देउवाको यो जित अन्तिम, पाँच वर्षपछि डडेल्धुरा हाँक्ने जिम्मा मेरै होः सागर ढकाल


काठमाण्डु- चर्चामा रहेका स्वतन्त्र उम्मेदवार सागर ढकाल चुनावमा पराजित भएका छन् । ढकाल प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पराजित भएका हुन् ।

प्रतिनिधिसभातर्फ देउवाले २५ हजार ५ सय ३४ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी ढकालले १३ हजार ४२ मत पाएका छन् । देउवा र ढकालबीचको मतान्तर १२ हजार ४९२ छ।

यसपटकको निर्वाचनमा भने देउवाको मत घटेको छ । ५१ हजार २०३ मत गणना हुँदा तीन हजार १८७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। २०७४ सालको निर्वाचनमा कांग्रेस एक्लै चुनाव लडेका बेला समेत २८ हजार ४४ मत प्राप्त गरेका देउवाले यसपटक २ हजार ५१० मत कम पाए।

तत्कालीन निकटतम् प्रतिद्वन्द्वी वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टले २०७४ सालको निर्वाचनमा २१ हजार ११५ मत ल्याएका थिए। अहिले गठबन्धन हुँदा त्यो मत समेत देउवाले पाउदा उनले ३४ देखि ४० हजारसम्म मत ल्याउने आंकलन गरिएको थियो ।

तर देशभरीनै राजनीतिक दल र पुरानै पात्रहरुप्रति जनताको वितृष्णा, आफ्नै पूर्व सहकर्मी कर्ण मल्ल चुनावमा होमिनु तथा नयाँ अनुहार सागर ढकालको उदय लगायतका कारण देउवाको मत घटेको हो।

२०४८ सालदेखि लगातार निर्वाचन जित्दै आएका छन् । प्रधानमन्त्री देउवाले डडेल्धुराबाट चुनाव जितेको यो सातौँ पटक हो । यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेल्धुराबाट विजयी देउवा २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि विजयी भएका थिए ।

त्यसयता देउवा ५ पटक यो देशको प्रधानमन्त्री भइसकेका छन्। देउवालाई यसपटक डडेल्धुराबाट आराम दिने सपनासहित गुल्मीबाट आएका ढकालको सपना पुरा हुन भने सकेन । उम्मेदवारी दिएसँगै ढकालको डडेल्धुरामा मात्र होइन देशभरिनै चर्चा चलेको थियो । समाजिक सञ्जालमा त उनको पक्षमा युवाहरुको ओइरो नै लाग्थ्यो । तर, ढकालले देउवालाई हराउन सकेनन् ।

उनले आफ्नो हारलाई जितको रुपमा हेरेको बताएका छन् । देउवासँग पराजित भइसकेपछि सामाजिक सञ्जालमार्फत अबको पाँच बर्षपछि डडेल्धुरामा आफ्नो विजयी हुने बताएका हुन् ।

ढकालले अबको पाँच बर्ष देउवाको अन्तिम हुने र त्यसपछि डडेल्धुरामा आफ्नो कुनै प्रतिस्पर्धी नै नभएको दावी गरे । ‘अबको पाँच वर्ष भनेको देउवाको अन्तिम हो । त्यसपछि डडेल्धुरामा मेरा लागि कुनै प्रतिस्पर्धी नै छैन् । त्यसकारण म फेरि डडेल्धुराबाट चुनाव लड्छु र जित्छु । मलाई सम्पुर्ण युवाहरुको साथ छ ।’, ढकालले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement