यसवर्षको सगरमाथा आरोहण शुरू, ४२१ जनाले पाए अनुमति

यसवर्षको सगरमाथा आरोहण शुरू, ४२१ जनाले पाए अनुमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – यस वर्षको सगरमाथा आरोहण शुरू भएको छ । सगरमाथाको चुचुरोसम्म बाटो बनेसँगै औपचारिक रूपमा आरोहण शुरु भएको पर्यटन विभागले जनाएको छ ।

यो यामको आरोहणका लागि डोरी टाँग्दै सात जना शेर्पा शुक्रबार शिखरमा पुगेका छ । पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार अशोक लामाले नेतृत्व गरेको टोलीले डोरी टाँग्ने काम सम्पन्न गरेको हो ।

सगरमाथाको चुचुरोमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा शुरू भएको छ । अब अरु आरोही मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्ने निर्देशक अवस्थीले बताए ।

पर्यटन विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार अहिलेसम्म ४४ आरोही समूहका ४२१ जनाले सगरमाथा आरोहणको अनुमति लिएका छन् । सगरमाथा आरोहण ४० दिनको हुन्छ ।

सगरमाथा आरोहणबाट मात्रै ६५ करोड रोयल्टी सङ्कलन भएको छ ।

आरोहणलाई सुरक्षित र व्यवस्थित बनाउन सम्बद्ध निकाय र एक्सपीडिसन कम्पनीले प्रभावकारी व्यवस्थापन गरेको छ ।

आरोहणका लागि अनुकूल मौसम रहेकाले मे ११ तारिख अर्थात् आइतबारदेखि तीन दिनसम्म सर्वाधिक सङ्ख्यामा आरोही चुचुरोमा पुग्ने सम्भावना छ ।

यतिबेला धेरैको सङ्ख्यामा आरोही सगरमाथाको तेस्रो शिविरबाट चुचुरोतर्फ लागेका छन् । त्यस्तै मे १६ र १७ तारिखमा हिमपात हुनसक्ने पूर्वानुमान गरिएकाले त्यसअघि आरोहीको चुचुरो पुग्ने योजना अनुसार आरोहणकोक्रममा जाम हुनसक्ने सम्भावना पनि छ ।

यसपाली खराब मौसमका कारण सगरमाथाको दोश्रो शिविरदेखि चौथो शिविरसम्म बाटो बनाउन १४ दिन लागेको कम्पनीले जनाएको छ । चौथो शिविरबाट भने दुई दिनमा शेर्पा टोली चुचुरोमा पुगेका थिए ।

यो याममा विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पा ३१औं पटक सगरमाथा आरोहण गरेर आफ्नै कीतिर्मान तोड्ने प्रयासमा छन् ।

टासी ग्याल्जेन शेर्पा २० दिनमा चार पटक सगरमाथा आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने योजनामा सगरमाथा पुगेका छन् ।