६४ वर्षपछि उचाइ नाप्न सगरमाथाको टुप्पोमा जाँदै सरकारी टोली


काठमाडौं – विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न सरकारी टोली बुधबार सगरमाथातर्फ जाँदै छ । नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको संयोजकत्वमा चारजनाको टोली सगरमाथा क्षेत्रतर्फ जाने उचाइ मापन कार्यक्रमका संयोजक सुशील डंगोलले जानकारी दिए । चारजनामध्ये खिमलाल गौतम र रविन कार्की सगरमाथाको टुप्पोसम्म जानेछन् ।

गौतमले सन् २०११ मा निजामती कर्मचारी सगरमाथा आरोहण दलको सदस्य भई सगरमाथाको आरोहण गरिसकेका छन् । सुरजसिंह भण्डारी र युवराज धिताल भने सगरमाथा आधार शिविरमै बस्ने संयोजक डंगोलले जानकारी दिए । यसअघि सन् १९५४ मा भारतको नापी विभागको टोलीले सगरमाथाको उचाइ नापेको थियो ।

कति लाग्नेछ समय ?
सगरमाथाको टुप्पोसम्म जाने दुई आरोहीले यो सिजन सुरु भएलगत्तै आरोहण थाल्नेछन् । करिब एक महिना लाग्ने आरोहणबाट उनीहरू फर्केपछि र खुम्बु क्षेत्रको कम्तीमा ८ स्थानमा गरिएको उचाइको मापन प्राप्त भएपछि आधुनिक उपायबाट तथ्यांक अध्ययन गरिने नापी विभागले जनाएको छ । उक्त तथ्यांकको अध्ययन विदेशमा नभई नापी विभागमा नै गरिने संयोजक डंगोलले बताए । उनले भने, ‘सगरमाथाको टुप्पोबाट र विभिन्न ८ स्थानबाट संकलित तथ्यांकलाई एकीकृत रूपमा अध्ययन गरिनेछ, यो अध्ययन हामी नापी विभागमा नै गर्नेछौं ।’

सगरमाथाको उचाइको अन्तिम रिपोर्ट सन् २०१९ को डिसेम्बरसम्म आउने संयोजक डंगोलले जनाए । उनले भने, ‘जतिसक्दो छिटो रिपोर्ट तयार पार्न खोज्छौं, तर यो अलि जटिल प्रकारको अध्ययन हुने भएकाले डिसेम्बर अन्तिमसम्ममा ल्याइसक्नेछौं ।’ यो समाचार आजको नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement