चिनियाँ सर्वेक्षकको एक टोली सगरमाथा चुचुरोमा

चिनियाँ सर्वेक्षकको एक टोली सगरमाथा चुचुरोमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बेइजिङ – चिनियाँ सर्वेक्षकहरूको एक टोलीले बुधबार विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएयता सगरमाथाको चुचुरोमा पुगेको यो पहिलो टोली हो । चिनियाँ सञ्चार माध्यमका अनुसार उचाइ पुन: मापन गर्नका लागि टोलीले सगरमाथाको आरोहण गरेको हो ।

भाइरसको महामारीका कारण नेपाल र चीनको सीमामा पर्ने सगरमाथाको आरोहण गर्न दुवै देशले विदेशी टोलीलाई रोक लगाएका छन् । चीनले भने आफ्ना नागरिकलाई आरोहणको अनुमति दिँदै आएको छ । चिनियाँ सरकारी समाचार संस्था सिन्हवाले सर्वेक्षकको टोलीले सगरमाथा आरोहण गरेको जनाएको छ । ‘दुई जना व्यावसायिक सर्वेक्षकले मौसमको अनिश्चितता र अपर्याप्त अक्सिजनका कारण आरोहण बीचमै रोकेका छन्,’ सिन्हवाले उल्लेख गरेको छ ।

सिन्हवाका अनुसार ८ जना आरोहीहरू स्थानीय समयअनुसार बुधबार बिहान ११ बजे सगरमाथाको टुप्पोमा पुगेका हुन् । ‘सहयोगीहरूले मंगलबार टाँगेको डोरीको सहयोगमा टोलीका सदस्यहरू चुचुरोमा पुग्न सफल भएका हुन्,’ सिन्हवाले जनाएको छ । टोलीमा सिन्हवा समाचार संस्थाका विशेष संवाददाता टासी छिरिङसमेत छन् । चिनियाँ टेलिभिजनमा सार्वजनिक दृश्यहरूमा उनीहरूले सर्वेक्षणका लागि आवश्यक उपकरणसमेत जडान गरेको देख्न सकिन्छ ।

सिन्हवाले आइतबार १२ सदस्यीय टोली ७०२८ मिटरको क्याम्पमा पुगेको जनाएको थियो । यसअघि खराब मौसमका कारण चुचुरोमा पुग्ने उक्त टोलीको प्रयास दुई पटकसम्म असफल भएको थियो ।

चीनको राष्ट्रिय स्रोत मन्त्रालयका अनुसार गत मार्च महिनाको सुरुदेखि ५३ सदस्यीय टोलीले सगरमाथाबारे वैज्ञानिक कार्यहरू गरिरहेको छ । सगरमाथाको उचाइबारे नयाँ तथ्य पत्ता लगाउन ‘बेइडो’ नामक भू–उपग्रह प्रयोग गरिएको सिन्हवाले जनाएको छ । मन्त्रालयका अनुसार हिउँको गहिराइ, मौसम र हावाको बहावबारे समेत टोलीले अध्ययन गर्नेछ ।

चीनले सगरमाथाको उचाइ नेपालले कायम गरेको भन्दा करिब ४ मिटर कम रहेको बताउँदै आएको छ । तर ५ वर्षअघि नेपालमा गएको ठूलो भूकम्पपछि यसको उचाइमा सामान्य परिवर्तन आएको हुन सक्ने ठानिएको छ ।

चीनले सन् १९४९ यता ६ पटक सगरमाथाको सर्वेक्षण गरिसकेको छ । सन् १९७५ को सर्वेक्षणअनुसार चीनले सगरमाथाको ८८४८.१३ मिटर रहेको जनाउँदै आएको थियो । तर सन् २००५ मा चीनले यसको उचाइ ८८४४.४३ मिटर कायम गरेको हो । नेपालले यसको उचाइ ८८४८ मिटर कायम गर्दै आएको छ ।यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।