सगरमाथाको नयाँ उचाइ कहिले ?

सगरमाथाको नयाँ उचाइ कहिले ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले सगरमाथाको मापन अन्तिम चरणमा पु¥याइरहेको बेला चिनियाँ सर्भे टोलीले सगरमाथा शिखरमै पुगेर मापन कार्य पूरा गरेको छ । ६५ वर्षअघि सन् १९५५ मा मापन भएको सगरमाथाको उचाइ हालसम्म ८ हजार ८ सय ४८ मिटर अर्थात् २९ हजार २८ फिट मानिँदै आइएको छ । सगरमाथाको नयाँ मापनले अब नयाँ उचाइ कति छ भन्ने विषयमा यथार्थ विवरण आउनेछ ।

सन् २००५ मा चिनियाँ नापी सर्भेपछि सगरमाथाको उचाइ ८ हजार ८ सय ४४ दशमलव ४३ रहेको र त्यसमा हिउँको उचाइ चार मिटर रहेको निष्कर्ष निकालिएको थियो । चिनियाँ पक्षले निकालेको सर्भे विवादमा आएपछि सन् २०१० मा नेपाल र चीनबीच सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर नै कायम गर्ने गरी सहमति जुटेको थियो ।

चिनियाँ सर्भेमा रहेका ३० जना सगरमाथाको शिखरमा पुगेर फर्केपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनले संयुक्त रूपमा सगरमाथाको उचाइ सार्वजनिक गर्ने बताएकी छन् । राजदूत यान्छीले ट्वीट गर्दै चिनियाँ सर्भेयरले पनि चुचुरोमै पुगेर सगरमाथाको नाप लिएको बताएकी छन् । उनले ट्वीटरमा फोटो पोस्ट गरेर २६ मे २०२० मा चिनियाँ सर्भेयर टोली सगरमाथाको चुचुरोमा पुगेको बताइन् ।

नेपालका तर्फबाट भने सगरमाथा मापनको अन्तिम काम अझै बाँकी रहेकाले उचाइ तत्काल सार्वजनिक नहुने नापी विभागका सूचना अधिकारी दामोदर ढकालले बताए । चीन र नेपालले सगरमाथाको उचाइ सार्वजनिक गर्ने विषयमा नापी विभागलाई कुनै जानकारी नभएको ढकालको भनाइ छ ।

‘हामी अहिले तथ्यांक प्रशोधन गर्ने काम गरिरहेका छौं,’ अब छिट्टै काम पूरा गरी सगरमाथाको उचाइ सार्वजनिक गर्नेछौं,’ ढकालले भने । सन् २०१८ फेब्रुअरीबाट सुरु गरिएको मापन कार्य दुई वर्षभित्रमा पूरा गर्ने लक्ष्य लिएको भए पनि मौसमका कारण ढिलाइ हुन पुगेको ढकालले बताए । ‘हाइ अल्टिच्युडका कारण गत साल फिल्डमा काम बाँकी रह्यो,’ सूचना अधिकारी ढकालले भने । मापन भएको उचाइको प्रशोधन गर्ने र पुरानो विधि तथा प्रक्रियामा इन्टरलिंक गरेर मे २०२० सम्ममा अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेर उचाइ सार्वजनिक गर्ने लक्ष्य राखिएको थिए । तर, प्रक्रियागत कामले ढिलाइ भएको ढकालले जानकारी दिए ।यो समाचार आजको राजधानी दैनिकमा छ ।