काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रूपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन् ।
सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटनसत्रलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र—इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा सामूहिक कदम चाल्न सर्वोच्च शिखर सगरमाथाको नामबाट संवादको जन्म भएको बताए ।
‘आशा गछौँ, यो संवाद—त्यत्तिकै उच्च बनोस् । उच्च नैतिक स्पष्टता, दृढ बौद्धिक साहस र सुन्दर भविष्य निर्माणका लागि अटल साझा दृष्टिकोणमा उच्च बनोस्’, प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा घरबासहरु पहिरोहरूले बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् तर अझै, हामी डटिरहेका छौँ । हाम्रा उत्सर्जनहरू न्यून छ तर वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्वपूर्ण छन् ।’
यस्तै उदघाटन शत्रमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालहरूले असाधारण तनावको सामना गरिरहेको बताइन् ।
जलवायु संकटले पहाडी समुदायको अस्तित्वको आधार नै हल्लाइरहेको समेत उनले बताइन् । ‘प्राकृतिक प्रकोपको उच्च जोखिम भएको पहाडी देश नेपाल अहिले गम्भीर द्विविधामा परेको छ, हालैका वर्षहरूमा चरम मौसमी घटनाहरूको सामना गरेका छौं जसले जनजीवनमा विनाशकारी असर पारेका छन्’, उनले भनिन्, ‘बाढी, हिमताल विस्फोट, खडेरी, पानीको अभाव र वन डढेलोहरूले देशभरका जनतालाई अथाह पीडा पुर्याएको छ ।’
उनले नेपालका लागि हिमालय सांस्कृतिक सम्पदा मात्र नभइ राष्ट्रिय गौरव र पहिचानको मेरुदण्ड भएको भन्दै यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय तहमा सरकार, निजी क्षेत्र र नागरिक समाजबीच गहिरो सहकार्य हुनुपर्ने बताइन् ।
नेपालले पेरिस सम्झौताअनुसार, कार्वन उत्सर्जन घटाउने, स्थानीय समाधानहरू अपनाउने काम गरिरहेको भन्दै उनले नेपालले २०४५ सम्ममा शून्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य लिएको समेत बताइन् ।
प्रतिक्रिया