प्रधानमन्त्री कार्यालय पुग्यो सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन

प्रधानमन्त्री कार्यालय पुग्यो सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय संसद् सचिवालयले सहकारी संस्था बचत अपचलनसम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सभामुख देवराज घिमिरेको निर्देशन बमोजिम आज प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको जानकारी दिए ।

एमाले सांसद स्रर्य थापा नेतृत्वको समितिले सोमबार प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेको थियो । प्रतिवेदन पेस भएलगत्तै सभामुख घिमिरेले आवश्यक कार्यान्वयनका लागि नेपाल सरकारलाई लेखि पठाउन संसद् सचिवालयलाई निर्देशन दिएका थिए ।

‘समितिले प्रतिवेदन बुझाइसकेपछि सभामुखज्यूले आवश्यक कार्यान्वयनका लागि नेपाल सरकारलाई लेखेर पठाउन सचिवालयलाई निर्देश गर्दछु भन्नु भएको थियो। त्यसअनुसार नै सचिवालयले सरकारलाई लेखेर पठाएको छ,,’ प्रवक्ता गिरीले भने, ‘हामीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई लेखेर पठाएका छौँ ।’

सरकारले प्रतिवेदन ग्रहण गरिसकेपछि बाँकी निर्णय तथा कार्यान्वयनको पक्ष सरकार हुनेछ । प्रतिवेदन सरकारले ग्रहण गरेपछि मन्त्रिपरिषद बैठकमा पेस हुनेछ । मन्त्रिपरिषद बैठकले कार्यान्वयन गर्ने निर्णय गरिसकेपछि मात्रै मातहत मन्त्रालयमा जानेछ।

प्रतिवेदनमा सहकारी ठगी, रकम अपचलन, कीर्ते जस्ता अपराधबारे औंल्याइएको छ। प्रतिवेदनले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम गोर्खा मिडियामा ल्याएर हिमामिना गरेको भन्दै कारबाही गर्न सिफारिस गरेको छ ।

नेपाली कांग्रेसले सहकारी बचत अपचलनमा तत्कालीन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने संलग्न देखिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गरेपछि गत जेठ १५ गते एमाले सांसद सूर्य सभापतित्वमा समिति गठन गरिएको थियो। समितिले तीन महिनाभन्दा बढी समय अध्ययन तथा अनुसन्धान गरेर प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेको थियो ।