सुयोग्य वचत तथा ऋण सहकारीद्धारा १० प्रतिशत लाभांस वितरण गर्ने निर्णय


काठमाण्डु – सुयोग्य वचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । कोटेश्वरमा केन्द्रीय कार्यालय रहेको सुयोग्यको वार्षिकोत्सव कार्यक्रमको उदघाटन बुधवार पूर्वमन्त्री केशव बडालले गरेका थिए ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री बडालले अर्थतन्त्रमा संकुचन आएसंगै केही सहकारीमा समस्या देखिएको विषयलाई लिएर सहकारी अभियानप्रति नै अविश्वास सिर्जना गर्ने कार्य भएको धारणा राखे । उनले यो भ्रमलाई चिर्नुपर्ने भन्दै आर्थिक संकुचनले सहकारीमा समेत प्रभाव पारेको समयमा समेत सदस्य केन्द्रीत भई सुयोग्य सहकारीले गरेको कामबाट आफु प्रभावित भएको दावी गरे ।

राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष समेत रहेका नेता बडालले सहकारी दर्शन, सिद्धान्त र मूल्यमा आधारित सदस्य केन्द्रित भई संचालन भएका सहकारी संस्थाहरु जस्तोसुकै परिस्थितिमा पनि सेवा प्रवाहमा अव्वल देखिएको बताए ।

कार्यक्रममा संस्थाकी सल्लाहकार तथा राष्ट्रिय सहकारी महासंघकी महाप्रवन्धक चित्रा कुमारी थाम्सुहांग सुब्बाले सदस्य हितमा केन्द्रित सेवा प्रवाहले सुयोग्य साकोसले सदैव सदस्यहरुको मन जित्न सफल रहेको धारणा राखिन् । उनले समग्र सहकारी क्षेत्रमा समस्या आएको भएपनि संस्थालाई पारदर्शी रुपमा अघि बढाइएको भन्दै सबैको सामुहिक प्रयासबाट मात्र यो सम्भव भएको बताईन ।

सुयोग्यको साधारण सभाले यस वर्षको वजेट सर्वसम्मत स्वीकृत गर्नुको साथै संस्थाको लाभासं कोषबाट सदस्यहरुलाई शेयर रकमको १० प्रतिशत लाभांस वितरण गर्ने तथा ऐन नियमावली अनुरुप कारोबारका आधारमा संरक्षित पूजी फिर्ता कोष रकम समेत वितरण गर्ने निर्णय गरेको छ । १४ सय सदस्य रहेको संस्थाको साधारणसभामा ९ सय १८ जना सदस्यहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement