सैनिक जवानमाथि निर्घात कुटपिट,जङ्गी अड्डाले थाल्यो छानबिन


काठमाण्डु –  अफ्रिकी राष्ट्र कंगोमा शान्ति स्थापनार्थका लागि खटिएका एकजना सैनिक जवानलाई क्याप्टेनले निर्घात रुपमा कुटपिट गरेको घटनामा जङ्गी अड्डाले छानविन सुरु गरेको छ ।

तीजना क्याप्टेन (सहसेनानी) इन्द्र थापा, सुवास हुमागाई र योगेन्द्र धितालले जवान नवराज माझीलाई निर्घात रुपमा कुटपिट गरेका हुन् ।

मिसनमा खटिएका सैनिक जवानलाई ३ जना क्याप्टेन (सहसेनानी) ले कुटेको फोटो अहिले  सामाजिक सञ्जालमा भाइरल भएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शनिबार एक विज्ञप्ति जारी गरी घटनाप्रति मुख्यालयको ध्यानाकर्षण भएको जनाउँदै छानबिनको प्रकृया सुरु भईसकेको जनाएको छ । निर्देशनालयका अनुसार छानबिनका लागि जेष्ठ सेनानीको नेतृत्वमा ‘कोट अफ इन्क्वायरी’ समेत गठन गरिएको छ ।

‘सैनिक आचरण र मर्यादा विपरीत भएको घटनामा संलग्न सबै जवान तथा अधिकृतहरुमाथि जेष्ठ सेनानीको नेतृत्वमा छानबिनको प्रकृया सुरु गरिएको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए ।

ज्वाला गणबाट कंगोको मिसनमा खटिएका जवानहरुमाथि गत बिहीबार राति ३ जना सहसेनानीले कुटेका हुन् । सार्वजनिक तस्बिरमा एक जना जवानको शरीरमा गहिरो नीलडाम छ ।

सैनिक जवानहरुले रातमा होहल्ला गरेर मर्यादा नाघेपछि सम्झाउँदा घटना भएको जानकारी भएपनि यकिन भईनसकेको सैनिक स्रोतले जनाएको छ ।  कंगोमा जवान कुटिएको घटनाबारे जानकारी पाए लगतै प्रधानसेनापति पूर्णचन्द्र थापाले पनि छानबिन गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement