सैनिक मञ्चको स्तरोन्नति, ‘बुलेटप्रुफ’ कोठा बन्ने

सैनिक मञ्चको स्तरोन्नति, ‘बुलेटप्रुफ’ कोठा बन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले सैनिक मञ्चको स्तरोन्नति गर्दै बुलेटप्रुफ क्याबिन (कोठा) समेत बनाउने भएको छ। राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्व र विदेशी कुटनीतिज्ञलगायत अति विशिष्ट व्यक्तिको सुरक्षा दृष्टिगत गरी उसले छुट्टै ‘बुलेटप्रुफ क्याबिन’ समेत बनाउने भएको हो। राष्ट्रप्रमुखसहित महत्त्वपूर्ण व्यक्ति सैनिक मञ्चमा हुने समारोहमा उपस्थित हुने गरेका छन्।

पुरानो शैलीको मञ्च स्तरोन्नति गर्न सेनाले कार्ययोजना तयार पारेको छ। नयाँ बन्ने सैनिक मञ्चको संरचना नेपाली वास्तुकलामा आधारित परम्परागत शैलीको हुनेछ। टुँडिखेल र सैनिक मञ्चको समयानुकूल स्तरोन्नती गर्ने खाका सेनाले बनाइसकेको छ। स्तरोन्नतिसम्बन्धमा नेपाली सेनाले पुननिर्माण प्राधिकरण र काठमाडौ महानगरपालिकासँग समेत समन्वय गरिरहेको छ। नयाँ संरचना भूकम्प प्रतिरोधी हुनेछ। फरक क्षमता भएका र ज्येष्ठ नागरिकमैत्री हुने गरी मञ्चको पुनर्निर्माण प्रक्रिया सेनाले अघि बढाएको हो।

टुँडिखेल क्षेत्रलाई आर्कषक बनाउन त्यस वरिपरि ‘जगिङ पार्क’ समेत निर्माण गर्ने सेनाले जनाएको छ। नयाँ सैनिक मञ्चमा चौबिसै घण्टा विद्युत् ब्याकअप हुनेछ। मञ्चमुनि पार्किङ हुनेछ। मञ्च स्तरोन्नति क्रममा सेनाले महांकाल मन्दिरछेउबाट पुरानो बस पार्क जोड्ने लिंक रोडलाई दुई लेनको ‘सब वे’ बनाउनेछ। सब वेमाथि हरियालीसहित पदमार्गसमेत बन्नेछ। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।