सैनिक इन्टेलिजेन्सलाई प्रभावकारी बनाउन संशोधन विधेयक संसदमा पेस


काठमाडौं – प्रतिनिधिसभाको आज (मंगलबार)को बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई थप लोकतान्त्रिक बनाउन र सेनामा अलग्लै इन्टलिजेन्स विभाग खडा गर्ने व्यवस्थासहितको ‘सैनिक (पहिलो संशोधन) विधेयक, २०७६’ पेश गरेका छन् ।

विधेयक पेस गर्दै रक्षामन्त्री पोख्रेलले सैनिक इन्टेलिजेन्सलाई समयसापेक्ष प्रभावकारी बनाउन, भावी सुरक्षा चुनौतीलाई सामना गर्न सक्ने बनाउन र सैनिक इन्टेलिजेन्सलाई आधुनिक बनाउन आवश्यक रहेको बताए ।

हाल प्रचलनमा रहेको सैनिक ऐन ०६३ मा इन्टेलिजेन्स काममा खर्च भएको, रिभल्बिङ फन्डबाट खर्च भएको र भइपरी आउने काममा खर्च भएको रकम मिनाहा सम्बन्धी विषयमा मात्र नियमावली बनाउन पाउने व्यवस्था रहेको छ । सैनिक इन्टेलिजन्स सेवा गठन र सञ्चालन सम्बन्धमा नियमावली बनाउन सक्ने स्पष्ट व्यवस्था नरहेको भन्दै संशोधन आवश्यक परेको मन्त्री पोखरेलले बताए ।

“नेपाली सेनालाई संविधान र कानुनप्रदत्त जिम्मेवारी प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि सैनिक इन्टेलिजेन्ससम्बन्धी हाल भइरहेको कामलाई व्यवस्थित र थप प्रभावकारी बनाउन सैनिक इन्टेलिजेन्स सेवा गठन तथा सञ्चालन सम्बन्धमा समेत एक छुट्टै नियमावली तर्जुमा गरी कार्यान्वयन गर्न आवश्यक भई हाल प्रचलनमा रहेको सैनिक ऐन ०६३ मा संशोधन गर्नुपर्ने भएकाले यो विधेयक सदनसमक्ष प्रस्तुत गर्दछु,” मन्त्री पोख्रेलले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement