यी रुटमा गुड्छन् काठमाण्डुमा साझाका विजुली बस


काठमाण्डु – काठमाण्डुमा आजदेखि साझा यातायातको बिजुली बस चल्न थालेको छ । बिहीबार पुल्चोकस्थित कम्पनी परिसरमा एक कार्यक्रम गर्दै साझाका संस्थापक अध्यक्ष विश्वबन्धु थापाले बिजुली बस सेवाको उद्घाटन गरेका हुन् ।

कम्पनीले पहिलो चरणमा तीनवटा बिजुली बस काठमाण्डुका सडकमा सुरूवाती परीक्षणको रुपमा सञ्चालनमा ल्याएको हो । चिनियाँ कम्पनी सीएचटीसी किनबिन अटोमोबाइल कर्पोरेशनले साझाका ४० बिजुली गाडी मध्ये बाँकी साउन मसान्तसम्म उपलब्ध गराउने थापाले जानकारी दिए ।

२६ वटा सिट क्षमता भएका यी गाडी साढे ८ मिटरका छन् । लो फ्लोर र ह्विल चियर राख्न मिल्ने यी गाडीमा एयर सस्पेन्सन, मोबाइल चार्जिङ पोर्ट, साइकल झुण्ड्याउन मिल्र्ने याकलगायतका सुविधा छन् ।

यी बिजुली गाडीलाई ५ घन्टा चार्ज गर्दा २०० किलोमिटर रेन्ज दिने साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले बताए । केही समयअघि साझा यातायातले ४० वटा बिजुलीबस खरिद गर्न कम्पनी छनोट गरेको थियो ।

आवेदन दिएका नौवटा कम्पनीमध्ये साझाले चिनियाँ कम्पनी सीएचटीसी किनबिन अटोमोबाइल कर्पोरेसनलाई छनोट गरेको थियो । पहिलो चरणमा आएका यी बसले नयाँ बसपार्कदेखि बालाजु हुँदै एयरपोर्टसम्म र लगनखेलदेखि लैनचौर हुँदै बुढानिलकण्ठसम्म सेवा दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement