काठमाण्डु – सत्तारुढ गठबन्धनले सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलले सरकारका न्यूनतम साझा कार्यक्रम सिंहदरवारमा औपचारिक रुपमा सार्वजनिक गरेका हुन् । केही दिन अगाडि गठबन्धनको कार्यदलले शीर्ष नेतृत्वलाई न्यूनतम साझा कार्यक्रम बुझाएको थियो ।
सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा भएको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने घोषणा भएको छ । कार्यदलका संयोजक पूर्णबहादुर खड्काले स्वास्थ्य सामग्रीमा भएको अनियमितताबारे छानबिन गर्ने घोषणा गरेका छन् ।
उनले भने, ‘स्वास्थ्य सामग्रीमा भएका अनियमिततालाई छानबिन गर्ने र दोषी देखिएकालाई व्यक्ति संस्था उपर कानुनी कारबाही गर्ने ।’
साथै सरकारले आगामी असोजसम्म एक तिहाइ नागरिकलाई र चैतसम्म सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ ।
नेपालमै खोप उत्पादनकाा लागि भ्याक्सिन ल्याब स्थापना गरिने, स्वास्थ्यकर्मी, सफाइकर्मीलगायतलाई प्रोत्साहन भत्ता उपलब्ध गराइने, राष्ट्रसेवकलाई व्यक्तिगत सामग्री उपलब्ध गराउने, अस्पतालको भौतिक पूर्वाधारमा विकास गर्ने, कोरोना नियन्त्रणमा सचेतना बढाउने लगायत पनि संयुक्त सरकारको नीति रहेको छ ।
कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कासहित कांग्रेस नेताहरु डा. मिनेन्द्र रिजाल, रमेश लेखक, माओवादी नेताहरु देव गुरुङ र वर्षमान पुन तथा जसपा नेताहरु महिन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य थिए ।
प्रतिक्रिया