अनशनरत युवाको जीवन तलमाथि भए त्यसको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ: साझा पार्टी


काठमाण्डु – कोभिड–१९ महामारीको प्रभावकारी व्यवस्थापनको माग गर्दै ’इनफ इज इनफ’ अभियान सम्बद्ध युवाहरूको दोस्रो पटकको अनशनमा साझा पार्टीले ऐक्यबद्धता जनाएको छ । ‘इनफ इज इनफ’ अभियानका अभियान्ता ई. करण गुरूङ र समाइरा श्रेष्ठ दोस्रो पटक पुनः अनशन बसेका हुन् ।

केही हप्ताअघि पीसीआर टेस्ट बढाउनु पर्ने, क्वारेन्टिन सुधार गर्नुपर्ने, अग्र पङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीहरूको सुरक्षाप्रति संवेदनशील रहनुपर्ने लगायतका कयौँ जायज मागहरू राख्दै दुईजना युवाहरू ई र पुकार बम १२ दिनसम्म अनशन बसेका थिए ।

सरकारले ती मागहरू पुरा गर्ने प्रतिबद्धता जनाएपछि उनीहरूले अनशन तोडेका थिए । तर सरकारको प्रतिबद्धतामा कुनै प्रगति नभएको भन्दै सरकारमाथि दबाब सृजना गर्न ई र समाइरा श्रेष्ठ पुन ६ दिनदेखि अनशन बसेका छन् ।

साझा पार्टीले बिहिबार एक विज्ञप्ति जारी गर्दै सरकारले आम सर्वसाधारणको मागविना आफै गर्न पर्ने कामहरू गराउनका लागि युवाहरूले आफ्नो ज्यान जोखिममा राखेको भन्दै सत्तारूढ दलका जिम्मेवार नेताहरू शक्ति संघर्षको घिनलाग्दो राजनीतिक खेलमा अहोरात्र व्यस्त रहेको उल्लेख गरेको छ ।

देश र जनताप्रति उनीहरूको कुनै संवेदनशीलता नदेखिएको भन्दै साझा पार्टीले संक्रमणको जोखिम कायमै रहेको अवस्थामा अनशनरत युवाहरूसँग भएको सहमति लागू नगर्नु अपराध भएको बताएको छ ।

साझाले सरकारी बेवास्ताले अनसनकारी युवाको स्वास्थ्यमा दीर्घकालीन असर परे वा उनीहरूको जीवन तलमाथि भए, त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण दोष प्रधानमन्त्री ओली स्वयंले लिनुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement