प्रधानमन्त्रीले रअ प्रमुखलाई भेटेको भन्दै साझा पार्टी विरोधमा


काठमाण्डु – भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गरेर फर्किएको विषयप्रति साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

साझा पार्टीका प्रवक्ता शरदराज पाठकले विहिवार एक विज्ञप्ती जारी गर्दै विदेशी गूप्तचरका प्रमुखलाई भेट्नु प्रधानमन्त्रीकै तहबाट नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथि ठाडो आक्रमण भएको जनाएका छन् । उनले विज्ञप्तिमा भनेका छन् ‘ रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन् ? यदि हुन् भने प्रधानमन्त्री ओलीको कार्यालयले तुरुन्त स्पष्ट पारोस्। होइन भने, आफ्ना खुफिया एजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसंग भेटाउनुबाट भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत गर्दछ। ’

साझा पार्टीले परराष्ट्र मन्त्रालयले औपचारिक वार्ताका लागि गरेको पत्राचारको जवाफ दिल्लीले नदिनु र अर्कोतिर खुफिया एजेन्सीका प्रमुख आएर सिधै प्रधानमन्त्रीलाई भेट्नुले नेपाली कुटनीति भारतसंगको सम्वन्धमा कुन तहमा गिरेको छ भन्ने स्पष्ट पारेको र त्यसले अन्य देशहरूसंगको हाम्रा कुटनीतिक सम्बन्धलाई पनि अत्यन्तै हलुका र सस्तो बनाएको दावी गरेको छ ।

साझा पार्टीले प्रधानमन्त्री ओलीको यस्तो लज्जाजनक रवैयाको गम्भीर भत्र्सना समेत गरेको छ । त्यसका साथै उसले यो दशकौंदेखि नेपालका शीर्ष भनिएका नेताहरूले देखाइरहेको आचरणकै निरन्तरता भएको समेत धारणा राखेको छ । प्रवक्ता पाठकले यस्तो आचरणलाई रोक्न र परराष्ट्र मन्त्रालयको कुटनीतिक आचारसंहिता पालना गर्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement