मिडिया क्षेत्रमा रमाएकी समाका सपनाहरू


नरेन्द्र रौले /काठमाण्डु – ख्यालख्यालमै समा थापाले मिडियामा १७ वर्ष बिताईन् । उनलाई हिजै जस्तो लाग्छ । तर, यति धेरै वर्षहरु बितिसके । उनका लागी मिडिया सूरुमा लहड, विस्तारै रहर र पछि व्यवसाय भयो ।

टेलिभिजनको पर्दामा देखिनुअघि समा थापा एफएमको दुनियाँमा रमाइरहेकी थिईन् । चितवनको भरतपुरमा छँदाखेरी नै हो, एफएमहरु भर्खर–भर्खर खुलेका थिए । स्कुले जीवनदेखि नै एफएममा प्रवेश गरेकी समाले सन् २००३ बाट पत्रकारिता सूरु गरिन् । चितवनको कालिका एफएम ९५.२ बाट समाले मिडियामा प्रवेश गरिन् । रेडियोमा बोल्छु भन्ने नै त उनलाई थिएन । एमटिभीको लहर थियो त्यसबेला । एमटिभी खुब चर्चित थियो । सांझ ५ देखी ६ बजेसम्म चर्चित कार्यक्रम आउथ्यो ‘मोस्ट वान्टेड’ ।

त्यो कार्यक्रम हेर्दाखेरी उनलाई लाग्थ्यो, यति त म पनि गर्न सक्छु । घरमै अभ्यास गर्न थालिन् । उनलाई रमाइलो लाग्थ्यो । घर छेउमै एक जना अंकलले उनले अभ्यास गरेको सुनेछन् । ‘कस्तो राम्रो बोलेको, हामीले त टिभी बज्यो जस्तो लाग्यो । तपाई रेडियोमा ट्राई गर्नुस् न,’ भन्नु भएछ ।

यस्तै हौसला र आफ्नो रहरले उनलाई कालिका एफएम पु¥यायो । सूरुमा अंग्रेजी कार्यक्रम चलाईन् । ठूलो संख्याका श्रोतामाझ पुग्न नेपाली कार्यक्रम पनि चलाईन् । पछि समाचार वाचन गर्न थालिन् । उनले त्यसबेला चलिरहेका कार्यक्रम भन्दा फरक ट्रेन्ड बसालिन् । श्रोताहरुको माया, सद्भाव, हौसलाले निरन्तर अगाडी बढ्न उनलाई बल पुग्यो ।

रेडियोको क्रेज निकै थियो । तर करिअर नै बन्छ भन्ने थिएन । घरबाट समालाई निकै साथ मिल्यो । आमा निकै खुसी हुनुहुन्थ्यो । त्यसबेला अध्ययनका सिलसिलामा फिलिपिन्स पुग्नु भएका बुबालाई आफ्नो प्रगतीबारे फोनमै सुनाइन् ।

रेडियोबाट कान्तिपुर टेलिभिजनसम्मको यात्रा

रेडियोको दुनियाँमा हराइरहेकी समा सन् २००६ देखी टेलिभिजन पर्दामा देखिन थालिन् । कान्तिपुर टेलिभिजनमा उनको जीवनका स्वर्णिम १२ वर्ष बिते ।

‘तपाई त काठमाण्डु गएर काम गर्नुपर्छ । यति मीठो स्वर छ, सम्भाबना पनि छ । ट्राई गर्नुस् न,’ चितवनमै छँदा समालाई यसो भन्नेको संख्या ठूलै थियो । सबैको उत्साह र प्रेरणाले उनलाई टेलिभिजनमा काम गर्न सक्छु भन्ने आँट आयो । काठमाण्डु आएर ट्राई गरेपछि सूरुमै कान्तिपुर टेलिभिजनमा छानिईन् । खासै ठूलो प्रतिष्पर्धा भएन । सहजै भयो । सूरुको एक वर्ष प्रोडक्सनमा बित्यो । कसरी समाचार बनाउने, कसरी फाइल गर्ने जस्ता प्राविधिक कुरा सिक्दै समय बित्यो ।

पहिलो पटक समाचार पढ्दाको क्षण समाले भुलेकी छैनन् । ‘म रेडियोको मान्छे, टेलिभिजनमा सुहाउन्न कि भन्ने लागेको थियो,’ उनले त्यो पल सम्झिदै भनिन्, ‘पाँच मिनेटको संक्षिप्त समाचार पढ्दा निकै डर लागेको थियो । मुटु ढुकढुक भएको थियो ।’

रेडियोमा काम गरेको व्यक्ति एकाएक टेलिभिजन ठूलो स्टुडियोमा छिर्दा अनौठो लाग्यो । आफैंमा आत्मविश्वास पलाईसकेको थिएन । उमेर र अनुभवले उनी परिपक्व भईसकेकी थिईनन् ।

जुन बेला समा टेलिभिजन प्रवेश गरिन् । त्यतिबेला मुलुकको राजनीति निकै तातेको थियो । माओवादी शान्ति प्रक्रियामा आएको थियो । जनआन्दोलनपछि नयाँ–नयाँ विषय उठिरहेका थिए । माओवादी लडाकु समायोजन, बेबी किङ, मधेसी दललाई मुलधारमा ल्याउनु पर्ने मुद्दाहरु तातिरहेका थिए ।

विषयवस्तु बुझ्न उनलाई समय लाग्यो । स्वअध्ययन र पत्रपत्रिका नियमित पढ्ने बानीले समाको बुझाईको दायरा फराकिलो बन्दै गयो । उनले एकदम मिहिनेत गरिन् । अफ्ठ्यारा दिनहरु थिए । यस्तो माहोलमा उनले काम गर्दा धेरै कुरा सिक्ने अवसर पाईन् ।

कतिपयलाई लाग्छ, समाचारवाचक भनेका अरुले लेखिदिएको स्क्रीप्ट पढ्ने मात्र हुन् । तर, समा मीठो बोल्ने मात्र होइन मीठो लेख्न सक्ने मिडियाकर्मी हुन् । उनको लेखाई र प्रस्तुतीमा बौद्धिकता झल्किन्छ । पत्रकार महिलामा प्रश्न गर्ने ल्याकत हुँदैन भन्ने भ्रमलाई उनले चिर्दै आइरहेकी छन् ।

१२ वर्ष कान्तिपुर टेलिभिजनको यात्रा टुंग्याएर समा हाल एपिवान टिभी पुगेकी छिन् । एपिवान टिभीमा समाचार र कार्यक्रम सञ्चालन गरेको पनि दुई वर्ष पूरा हुँदैछ । टेलिभिजनको पर्दामा चौध वर्ष बिताईसकेपछि उनी बेलाबेला रेडियोमा काम गरेका दिनहरु मिस गर्छिन् ।

त्यसबेला रेडियोको निकै चार्म थियो । उनलाई पत्रहरु पनि निरन्तर आईरहन्थे । टेलिभिजनमा काम गर्दा सम्म पत्रहरु प्रशंसाका भावले कोरिएका पत्र उनको नाममा आईरहन्थे । अहिले उनलाई बानी परेर होला टेलिभिजनमै काम गर्न सहज लाग्छ ।

विदेशी मिडियामा काम गर्ने एन्डरसन कुपर, क्रिस्टियना मेनपो, मेघन केली, जस्ता प्रस्तोताहरुबाट उनी निकै प्रभावित छिन् । आफूलाई विदेशी मिडियामा काम गर्ने रहर भने उनलाई खासै लागेन । नेपालमै बसेर, नेपाली मिडियामै योगदान दिन पाए भन्ने कुरामै उनको ध्यान गयो ।

समय क्रममा धेरै पत्रकारहरु आफ्नो पेशाबाट पलायन भए । कोही विदेश पुगे, कोही एनजिओ र आइएनजिओमा पुगे । पत्रकारिताको आकषर्ण घट्दै गयो । तर, समाको मन भने मिडियामै अडियो । उनी भने कहिल्यै बिचलित भईनन् । निरन्तर मिडियाको कामप्रति एकाग्र भएर लागिरहिन् । उनले स्वदेशमै केही गरौं भन्ने लाग्छ ।

‘मिडिया आवाज बिहिनको आवाज नै हो दत्तचित्त भएर लागौं न,’ आत्मविश्वासका साथ समा भन्छिन्, ‘विदेशी मिडियामा हाम्राे आवश्यकता पर्दैन । यहीं केही गरौं न ।’ भोलीका दिनमा पनि समा मिडियामा रहनेछिन् । यसैमा उनको खुसी जोडिएको छ । यसैमा उनलाई आत्मसन्तुष्टि छ । उनले यो पेशा परिवर्तन नगर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

समाका रुचिहरु

९ वर्षअघि विवाह बन्धनमा बाधिएकी समालाई सबैभन्दा बढी पुस्तक पढ्न मन पर्छ । खासगरी बायोग्राफी पढ्न उनी एकदमै रुचाउँछिन् । समा यतिखेर ‘सेभेन डे इन बाली’ भन्ने पुस्तक अध्ययन गरिरहेकी छिन् । नारायण वाग्ले, बिपी कोइराला उनका मन पर्ने लेखक हुन् ।

विदेशीमा जे कृष्णमूर्ति, रबिन कुमारको लेखनले उनलाई आकर्षित गर्छ । उनी भाषामा भन्दा विचार, विषयवस्तुमा बढी ध्यान दिन्छिन् । पछिल्लो समय समाले सरस्वती प्रतिक्षा र कुमार नगरकोटीका पुस्तक पनि छिचोलिन् ।

समा लुगा, जुत्ता सपिङ गर्न खुबै रुचाउंछिन् । उनलाई पहिले–पहिले कोट किन्न खुब मन पथ्र्यो । उनी कोटको सौखिन थिइन् । बाहिर गयो भने नयाँ सामान किन्न मन लागिहाल्छ । घुमघाम भनेपछि उनी हुरुक्कै हुन्छिन् । समय पायो भने उनलाई नेपालका रोल्पा, कर्णाली जस्ता विकट ठाउ नै पुग्न मन छ । कतै ट्रेकिङ जाने रहर पूरा भएको छैन ।

अहिलेसम्म करिब १५ वटा मुलुक घुमिसकेकी समालाई सबैलाई काजकिस्तानले तान्यो । सुन्दर, शान्त, हरियाली यो देशले उनलाई मोहनी नै लगाएछ । ‘काजकिस्तान मलाई मन पर्ने टाइपको शहर थियो,’ समाले पछिल्लो यात्राको ताजा अनुभव साटिन् ।

खानपान र जीवनशैली

समा शाकाहारी हुन् । खानपानमा खास चुजी छैनन् उनी । एउटै भन्दा फरक फरक रेस्टुराँ गएर नयाँ–नयाँ परिकारको टेस्ट लिन उनी रुचाउँछिन् । पुल्चोकको सिरियन ताज रेस्टुराँ उनलाई मन पर्ने मध्येको एक हो । नेपाली परिकारस“ग मिल्दोजुल्दो परिकार त्यहाँ पाईने उनको अनुभव छ ।

ट्वीटरमा सक्रिय समा सामाजिक सञ्जाल त्यती धेरै समय बिताउँदिनन् । उनी सामाजिक सञ्जालमा सकभर कम समय बिताउने सोचमा छिन् । इन्स्टाग्राम, फेसबुक, ट्वीटर चलाउने उनलाई अहिलेसम्म टिकटकले भने तानेको छैन । युट्युवमा इतिहाससँग सम्बन्धित भिडिओहरू हेर्छिन् ।

समालाई मेडिटेसनमा जान मन छ । तर, समय मिलेको छैन । समालाई अध्यात्म मानिसको जीवनको अंग हो भन्ने लाग्छ। रुपान्तरण गर्ने बहाना पनि हो भन्ने लाग्छ । मोबाइल बाहेक अन्य ग्याजेट खासै चलाउँदिनन् । यही नै काफी छ उनका लागी । आँखा खोलेर होस् या बन्द भएका बेला पनि समाले सपना देख्न छाडेकी छैनन् । समाका ठूला सपनाहरू त छैनन् । एउटै सपना हो, सधैँ मिडियामै रमाउने । मिडिया क्षेत्रमै जीवन बिताउने ।

प्रतिक्रिया दिनुहोस
Advertisement