उद्योग मन्त्रालयका ५ प्राथमिकता सार्वजनिक, आन्तरिक उत्पादनमा जोड

उद्योग मन्त्रालयका ५ प्राथमिकता सार्वजनिक, आन्तरिक उत्पादनमा जोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी आर्थिक वर्षका लागि आफ्ना मुख्य प्राथमिकताहरू सार्वजनिक गरेको छ ।

मन्त्रालयले आईतबार मुख्य प्राथमिकता सार्वजनिक गर्दै आन्तरिक उत्पादन वृद्धि, विशेष आर्थिक क्षेत्रको उपयोग र स्टार्टअप उद्यमको व्यवस्थापन लगायतका रणनीतिक विषयहरूलाई समावेश गरेको छ ।

औद्योगिक विकासका लागि आवश्यक पर्ने कच्चा पदार्थको आन्तरिक उत्पादन बढाउन मन्त्रालयले अन्य सरोकारवाला मन्त्रालयहरूसँग आवश्यक समन्वय र सहकार्य गर्ने भएको छ । खाद्य प्रशोधन उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको आपूर्ति सुनिश्चित गर्न बलियो समन्वयकारी भूमिका निर्वाह गरिने मन्त्रालयले जनाएको छ ।

निर्यात प्रवर्द्धनका लागि स्थापना गरिएका विशेष आर्थिक क्षेत्रहरूको प्रभावकारी व्यवस्थापन गर्दै तिनलाई बहुउद्देश्यीय उपयोगमा ल्याउने प्राथमिकता तय गरिएको छ ।

आन्तरिक उत्पादन बढाउनका लागि स्पष्ट लक्ष्यहरू तोकिनेछन् । ती लक्ष्यहरू पूरा भए/नभएको सुनिश्चित गर्न उद्योग विभागमार्फत नियमित अनुगमन तथा मूल्यांकन गर्ने प्रणाली विकास गरिने मन्त्रालयले जनाएको छ ।

नयाँ उद्यमीहरूलाई प्रवर्द्धन गर्न प्रदान गरिँदै आएको ‘स्टार्टअप उद्यम कर्जा’को परिणाम र प्रभावकारिताको समीक्षा गरिने भएको छ । कार्यक्रमलाई थप जवाफदेही र पारदर्शी ढंगले व्यवस्थापन गर्ने मन्त्रालयको योजना छ ।

आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटलाई मार्गनिर्देशन गर्ने गरी मन्त्रालयले यी प्राथमिकताहरू अघि सारेको छ ।