एमसीसी कार्यान्वयनको तरङ्ग : माओवादी पार्टीदेखि समाजवादी मोर्चासम्म खैलाबैला


काठमाण्डु- अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले आज बुधबार अर्थ मन्त्रालयमा आयोजित विशेष समारोहमा एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश (इन्ट्री इन्टु फोर्स– ईआईएफ) सम्बन्धी पत्र आदानप्रदान गरेसँगै एमसीसी परियोजना कार्यान्वयन चरणमा प्रवेश गरेको छ ।

नेपाल सरकार र मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) को संयुक्त लगानीको ‘एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम’ कार्यान्वयन चरणमा प्रवेश गरेसँगै फेरि राजनीतिक विवाद सुरु भएको छ । सरकारले सिंहदरबारमा एमसीसी कार्यान्वयनको सुरुआत गरिरहँदा सडकमा विरोध प्रदर्शन भइरहेको थियो ।

खुलेरै विरोधमा उत्रिएका थिए प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगैका ‘सहयोद्धा कमरेडहरू’ । प्रधानमन्त्री प्रचण्डकै सक्रियतामा बनेको समाजवादी मोर्चाको एक घटक नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले २०५२ साल स्मरण गराए ।

काठमाडौंमा आयोजित विरोध सभामा महासचिव विप्लवले भने, ‘एमसीसीको विरोध गर्ने नेपाली नागरिकहरूलाई जेल हाल्छु भन्ने हो भने या जेल हाल्छु भन्यो भने यो सुनिराख्नुस्, कांग्रेसले पनि सुन्न जरुरी छ र प्रचण्डले पनि सुन्न जरुरी छ, के हेक्का राखोस् भने एमसीसीले शान्ति होइन, नेपालमा अर्को २०५२ सालको तयारी गर्दैछ । यो कुरा राम्रोसँग हेक्का राख्नुपर्छ ।’

समाजवादी मोर्चाले मंगलबार लुम्बिनीमा गरेको सन्देश सभामा पनि महासचिव विप्लवले प्रधानमन्त्री प्रचण्डकै सामुन्ने एमसीसीको विरोध गरेका थिए । उनले भनेका थिए, ‘नेपालको कानून, सार्वभौमिकता मिचेर अगाडि बढ्न दिँदैनौं, नेपाललाई निस्वार्थ सहयोग गर्नेको हामीले विरोध गरेको होइन तर शर्त सहितको सहयोग हामीलाई चाहिँदैन, समाजवादी मोर्चाले त्यसलाई स्वीकार गर्दैन, अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न सक्दैन, यसमा प्रधानमन्त्रीको ध्यान जाओस् ।’

एमसीसी कार्यान्वयनमा जाने दिन बुधबार बिहान विप्लवले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर एमसीसी कार्यान्वयन भएमा समाजवादी मोर्चा र माओवादी केन्द्रसँग सहकार्य तोड्ने चेतावनी दिए ।

नेकपा महासचिव विप्लवले मात्रै होइन, मोर्चाकै अर्काे घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेत एमसीसीको पक्षमा देखिएनन् । अध्यक्ष नेपालले संसद्ले पारित गरेको व्याख्यामक घोषणा स्वीकार नगरिए त्यसमा जान नसकिने स्पष्ट पारे । उनले देशभन्दा माथि सरकार नहुने बताउँदै एमसीसीबारे सबै प्रस्ट हुनुपर्ने बताए ।

एकीकृत समाजवादीकै सम्मानित नेता झलनाथ खनालले एमसीसीको खुलेरै विरोध गरिरहेका छन् । एमसीसीको विरोधको तरङ्ग फैलिँदै प्रधानमन्त्री प्रचण्डकै दल नेकपा माओवादी केन्द्रसम्म पुग्यो । माओवादी महासचिव देव गुरुङले खुलेरै एमसीसीको विरोध गरे ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेपालको संसद्बाट १२ बुँदे घोषणासहित एमसीसी सम्झौताको अनुमोदन गरियो । त्यसबेला मन्त्री लगायतका प्रायः सबै नेताहरूले १२ बुँदे घोषणालाई स्वीकार गरी त्यसलाई एमसीसी सम्झौताको अंग बनाइनुपर्ने र १२ बुँदे घोषणा स्वीकार नहुँदासम्म एमसीसी सम्झौता कार्यान्वयन नहुने भनी संसद्को रोस्टमबाट प्रतिबद्वता जाहेर पनि गरिएको थियो तर आजसम्म अमेरिकी एमसीसी कम्पनीले औपचारिक रूपमा लिखित रूपमा १२ बुँदे स्वीकारेको देखिएको छैन । माओवादी केन्द्रको प्रस्ट धारणा छ कि १२ बुँदे घोषणालाई एमसीसी सम्झौताको लिखित अंग नबनाउँदासम्म एमसीसी कार्यान्वयन हुन सक्दैन । हेक्का रहोस् कि नेपालको सार्वभौम अधिकारसम्पन्न संसदले गरेको घोषणालाई अवमूल्यन गर्ने अधिकार कोही कसैलाई छैन ।’

२०७८ फागुनमा प्रतिनिधि सभाबाट अनुमोदन भएको एमसीसी सम्झौतासँगै संलग्न गरिएको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार्‍यो कि स्वीकारेन भन्ने आधिकारिक दस्तावेज सार्वजनिक नहुँदा सर्वत्र अन्योलता छ ।

एमसीसीलाई लिएर माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङ, सचिव लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल लगायत नेताहरू विरोधी पक्षमा देखिने गरेका थिए । हाल उपप्रधान तथा गृहमन्त्री रहेका कारण श्रेष्ठ यतिबेला बोलेका छैनन् । उनले मन्त्री नहुँदा एमसीसी पारित हुनुअघि भनेका थिए, ‘हाम्रो पार्टीले महाधिवेशनबाट र त्यसपछिका सबै छलफलहरूबाट एमसीसी सम्झौताका बारेमा निकालेको निष्कर्ष र लिएको निर्णय स्पष्ट छ । राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूलका प्रावधानहरू संशोधन नभएसम्म पास गर्नु हुँदैन ।’

सत्तारुढ दल भएकाले स्पष्ट रूपमा व्यक्त हुन नसके पनि एमसीसीलाई लिएर माओवादीभित्र तीव्र असन्तुष्टि छ । समाजवादी मोर्चाका घटकहरू एकीकृत समाजवादी र नेकपा विरोधमा देखिएका छन् । एमसीसीकै विवादका कारण आज बुधबारका लागि पूर्व निर्धारित सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभा अकस्मात स्थगित भएको छ । राष्ट्रिय जनमोर्चाले देशैभर एमसीसीको विरोधमा प्रदर्शन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement