के हो ‘गुन्डा नाइके’ समीरमान र डीएसपी केसीबीचको ‘कनेक्सन’ ?


काठमाण्डु – गुण्डा नाइके समीरमानसिंह बस्नेतलाई भेट्न जेल पुगेका डीएसपी मिलन केसीमाथि छानविन सुरु भएको छ ।

प्रहरी वृत्त स्वयम्भूका प्रमुखसमेत रहेका डीएसपी केसीले गत आइतबार सुन्धारा कारागारा पुगेर बस्नेतलाई भेटेको खुलेपछि उनलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानेर छानबिन सुरु गरिएको हो ।

छानबिनका लागि एसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको काठमाण्डु प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए ।

गुन्डा समूहसँग प्रहरीका विभिन्न अधिकारीहरूको नाम पटक–पटक जोडिँदै आएको छ । छानबिन समितिले आफ्नो काम सुरु गरेको र गुन्डा नाइकेलाई भेटेको पाइए कारबाही गरिने एसएसपी गिरीले बताए ।

‘छानबिन समितिले भेटे/नभेटेकोबारे प्रतिवेदन तयार गर्नेछ, डिएसपी केसीले भेटेको पुष्टि भए विभागीय कारबाहीको सिफारिस गर्ने तयारी छ,’ उनले भने ।

समीरमान निर्माण व्यवसायी सं घका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या आरोपमा पुर्पक्षका लागि जेल चलान भएका थिए । उनै समीरमानलाई भेट्न अर्का गुन्डा नाइके अमृत केसीलाई लिएर डीएसपी केसी आइतबार सुन्धारास्थित केन्द्रीय कारागार पुगेका हुन् ।

खुँखार अपराधीहरू राखिने केन्द्रीय कारागारमा अनुसन्धानका लागि खुफिया प्रहरी, सुरक्षा गर्ने प्रहरी, अनुसन्धान ब्यूरो, काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसन्धान अधिकारी लगायतका अधिकारीहरु निरन्तर खटिन्छन् । तर उनीहरुको टोलीलाई छल्दै आइतबार बिदाका दिन डिएसपी केसी कारागार पुगेका हुन्।

कारागारमा डीएसपी केसीले बस्नेतसँग के कुरा गरे भन्ने विषय सार्वजनिक भएको छैन। अनुमति लिएर कारागारमा रहेका आफन्तलाई भेट्न जो कोहीले पाइन्छ तर, उनी गुन्डा नाइकेलाई भेट्न विभागलाई जानकारी नै नगराई जेलमा पुगेका हुन् । प्रहरीले डीएसपी केसी र समीरमानको ‘कनेक्सन’ खोजिरहेको छ ।

गौचन हत्याका मुख्य योजनाकार समेत रहेका समीरमानले कारागारभित्रैबाट आपराधिक गतिविधि सञ्चालन गर्ने गरेको आरोप लाग्दै आएको छ ।

समीरमानकै समूहको नामबाट एक वर्षअघि विभिन्न व्यवसायीहरूलाई धम्क्याउँदै रकम माग्ने गरेको खुलेको थियो । सो घटनामा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका भाइ नरेश थापाको पनि संलग्नता पाइएको थियो । नरेश सहित ८ जनालाई पक्राउ गरेर प्रहरीले आपराधिक लाभको कसुरमा मुद्दा चलाएको थियो । डिल्लीबजार कारागारमा डेढ वर्षको सजाय काटेर थापा भने छुटिइसकेका छन् ।

०७४ असोज २३ गते साढे दुई करोड रुपैयाँ नदिएको भन्दै समीरमानकै निर्देशनमा काठमाण्डुको शान्तिनगर, खरीबोटमा गौचनको गोली हानी हत्या गरिएको थियो । ०७४ मंसिर १७ गते पक्राउ परेका समीरमान जेल जिवन विताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement