संसदमा पुग्यो ‘गलबन्दी’ विवाद, मिन विश्वकर्माले दिए प्रकाशलाई दह्रो साथ


काठमाडौं – गायक प्रकाश सपुतको चर्चित गीत ‘गलबन्दी च्यातियो तिमिले तानेर’ विवादले संसदमा प्रवेश पाएको छ ।

नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले प्रकाश सपुत र शान्ति सिंह परियारमाथि जातीय भेदभावको दृष्टिकोणले अपमानित गर्ने र मुद्धा लगाउने काम भएको भन्दै आपत्ती जनाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले सरकार जातीय द्वन्द्व भड्काउने काममा लागेको आरोप लगाउँदै ‘गलबन्दी च्यातियो तिमिले तानेर’ गीत गाउँघरमा मेलापात जाँदा स्वतः स्फुर्त गाउने भाका नै लोकभाका भएको र सामान्य कलाकारले मन छुने गरी प्रस्तुत गरेको गीतमा नक्कल भयो भनी मुद्धा हाल्न पुग्नु लज्जास्पद भएको टिप्पणी गरे ।

सत्तारुढ दलकै सांगीतिक क्षेत्रमा आवद्ध भात्तृसंस्थामा आवद्ध शभ्भू राईले आफ्नो लय नक्कल गरेको भनी मुद्धा हालेको प्रसंग उल्ल्लेख गर्दे सांसद विश्वकर्माले भने, ‘शम्भू राई र उनका समर्थकले सामाजिक सञ्जालको दुरुपयोग गरी प्रकाश सपुतलाई जातीय भेदभावको दृष्टिले अति निच गाली गर्नुको साथै उनलाई हत्तोत्साहित गराउन लागि परेको देखिन्छ ।

त्यतिमात्रै होइन संविधान, कानुन र सामाजिक सद्भावको बर्खिलाप हुने गरी सिंगो दलित समुदायलाई अपमानित हुने गरी उनीहरुमाथि नीच ढंगले जातीय भेदभाव र अपमान गरेको हुनाले साइबर कानुन अन्तर्गत, जातीय छुवाछुत तथा भेदभाव कसुर ऐन २०६८ अन्तर्गत र संविधानको धारा २४ अन्तर्गत उनीहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन माग गर्दछु ।’

उनले प्रकाश सपुतविरुद्ध मुद्धा हाल्ने र सामाजिक सञ्जालमा गाली गलौच गर्नेहरुलाई कारबाहीको दायरामा नल्याए सिंगो दलित समुदाय अन्दोलनमा उत्रिने चेतावनी दिए ।

केही समयअघि प्रकाश सपुतले ल्याएको गीत ‘गलबन्दी’ बोलको गीत र शम्भू राईको गीत ‘आउ नाचौँ साथी हो’ सँग मिल्न गएको भन्दै विवाद र चर्चा आज संसदसम्मै पुगेको हो ।

पूर्वेली गायक शम्भू राईले प्रकाश सपुतविरुद्ध नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement