सोलुखुम्बुका हरेक घरमा चाँडै बिजुली बल्छ : सांसद राई


सोलुखुम्बु – प्रतिनिधिसभाका सदस्य हेमकुमार राईले तीन वर्षभित्र सोलुखुम्बुको हरेक घरमा बिजुली पुग्ने बताएका छन् ।

सोलुखुम्बुमा स्थापना गरिएको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको उद्घाटन गर्दै सांसद राईले निर्वाचित भएदेखिनै निरन्तर रुपमा खटेर वितरण केन्द्र ल्याउन सफल भएको भन्दै अब ‘उज्यालो सोलुखुम्बु’को अभियान सुरु भएको बताए ।

साथै उनले विगतको दिनमा सडक निर्माणको विवाद आउने गरेको जिल्लामा विद्युत्लाईन विस्तारको क्रममा समेत विवाद आउनसक्ने भन्दै सहयोगका लागि सबैलाई अनुरोध गरे । जिल्लामा ग्रामीण विद्युतीकरणको लागि चालु आर्थिक वर्षमा खर्च हुनेगरी करीब रु ४७ करोड बजेट प्राप्त भएको छ । उक्त बजेटबाट पहिलोचरणमा जिल्लाको सोलुदूधकुण्ड नगरपालिका, नेचा सल्लयान र थुलुङदूधकोशीमा ग्रामीण विद्युतीकरणको लागि काम हुने सांसद राईले जानकारी दिए ।

यस्तै प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले जिल्लामा उत्पादित विद्युत् सोलुखुम्बुलाई उज्यालो नबनाइ बाहिर नलानसमेत आग्रह गरे ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभासदस्य उत्तमकुमार बस्नेतले विद्युत्बाट सञ्चालन हुने उद्योग तथा कलकारखानातर्फ ध्यान दिने बेला भएको बताए । विद्युत् नहुँदा उद्योगसमेत स्थापना हुन नसकेको भन्दै सांसद बस्नेतले आगामी दिनमा यस तर्फ सबैले ध्यान दिँदै स्वरोजगार सिर्जना गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस