लकडाउन खुकुलो पार्न सरकारका नाममा संसदीय समितिको निर्देशन


काठमाडौं – संसदीय समितिले लकडाउनलाई क्रमशः खुकुलो पार्न सरकारका नाममा निर्देशन जारी गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि पीसीआर परीक्षणलाई बढाउंदै लैजान र लकडाउन खुकुलो पार्न निर्देशन जारी गरेको हो । बैठकमा गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल सहभागी थिए ।

राज्य व्यवस्था तथा सुशासन समितिले आइसोलेसन बेडहरु पर्याप्त मात्रामा निर्माण गर्न, स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाइनलाई मापदण्डअनुसार बनाउन र किसानहरुलाई मल तथा बीउबिजन उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

विदेशमा अलपत्र परेका कामदार र भारतसंगको सीमावर्ती क्षेत्रमा बसेका नागरीकहरुलाई संक्रमण नियन्त्रणसम्बन्धी विश्वव्यापी मापदण्डअनुसार व्यवस्थित रुपमा घर फर्कने व्यवस्था मिलाउन समेत समितिले निर्देशन दिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले भारतीय नेपाल भारत सीमा क्षेत्रमा करिब २१ सय नेपालीहरु क्वारेन्टाइनमा रहेको जानकारी दिएका थिए भने स्वास्थ्यमन्त्री ढकालले पछिल्ला दिनहरुमा पीसीआर प्रविधिबाट गरिने परीक्षणलाई बढाउंदै लगेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement