संसदमा पारित भएको विधेयक राष्ट्रपतिबाट पहिलोपटक फिर्ता

संसदमा पारित भएको विधेयक राष्ट्रपतिबाट पहिलोपटक फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट राहदानी संशोधन विधेयक फिर्ता भएको छ। प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकमा पुनर्विचार गर्न भन्दै प्रतिनिधिसभामा फिर्ता भएको हो। संसद्ले पारित गरेको विधेयक पुनर्विचारका लागि राष्ट्रपतिबाट फिर्ता गरिएको यो पहिलोपटक हो।

प्रतिनिधिसभाले पारित गरेको राहदानी संशोधन विधेयक राष्ट्रियसभाले ६० दिनभित्र कुनै निर्णय नगरेको भन्दै प्रतिनिधिसभाले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको थियो। दुवै सदनले पारित गरेर पठाउनुपर्ने विधेयक प्रतिनिधिसभाले मात्र पारित गरेको भन्दै राष्ट्रपतिबाट फिर्ता भएको हो। विगतमा रामवरण यादव राष्ट्रपति हुँदा नेपाल ऐन संशोधन गर्ने अध्यादेश र अर्को संविधानसभा सदस्य निर्वाचनसम्बन्धी अध्यादेश फिर्ता भएका थिए।

‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूसमक्ष प्रतिनिधिसभाका सम्माननीय सभामुखज्यूबाट प्रमाणित भई संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरणका लागि पेस हुन आएको राहदानीसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकमा संविधानको धारा ११३ को उपधारा ९३० बमोजिम पुनर्विचार हुन मिति २०७६ साल जेठ ८ गते बुधबार सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

संविधानको धारा ११३ को उपधारा ९२० मा प्रमाणीकरणका लागि पेस भएको अर्थ विधेयकबाहेक अन्य विधेयकमा पुनर्विचार हुनु आवश्यक छ भन्ने राष्ट्रपतिलाई लागे त्यस्तो विधेयक पेस भएको १५ दिनभित्र निजले सन्देशसहित विधेयक उत्पत्ति भएको सदनमा फिर्ता पठाउन सक्ने व्यवस्था छ। अन्नपूर्णपोष्ट दैनिकमा छ ।