सन्दीपविरुद्धको मुद्दामा किशोरीको सक्कल जन्मदर्ता झिकाउन अदालतकाे आदेश


काठमाण्डु- नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाण्डु जिल्ला अदालतले पीडित भनिएकी किशोरीको दुई वटा जन्ममिति देखिएपछि जन्मदर्ताको सक्कल मगाउन आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुली इजलासले प्रमाण बुझ्नका लागि जन्मदर्ताको सक्कल माग गरेको हो । अस्पतालबाट प्राप्त कागजात र स्थानीय निकायबाट प्राप्त कागजातमा जन्ममिति फरक देखिएकाले प्रमाण बुझ्न सक्कल जन्मदर्ता माग गरेको काटमाण्डु जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको उजुरी परेको थियो । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोमा असोज २० मा सन्दीप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

उनलाई जिल्ला अदालत काठमाण्डुले पुर्पक्षका लागि केन्द्रीय कारागार सुनधारामा थुनामा पठाएकोमा पुस २९ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा सर्तसहित रिहा गर्न आदेश दिएको थियो ।

उनीविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement