पुर्पक्षका लागि सन्दीप लामिछानेलाई थुनामा पठाउन अदालतकाे आदेश


काठमाण्डु –  १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ।

शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले उनलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए। शुक्रबार दुबै पक्षको बहस सकिएको थियो । बहस सकिएसँगै अदालतले आदेश दिएको हो।

सन्दीपविरुद्ध काठमाण्डु जिल्ला सरकारी वकिल कार्यालयले सोमबार १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै काठमाण्डु जिल्ला अदालतमा अभियोग पत्र दर्ता गरेको थियो।

प्रहरीले लामिछानेविरूद्ध होटलका सिसिटिभी फुटेज, बयान, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ। लामिछानेले इन्कारी बयान दिँदै आएका छन्। सन्दीप गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

लामिछानेमाथि भदौ ५ गते काठमाण्डुकाे एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement