कांग्रेस मूख्यालय सानेपामा सुरु भयो पुस्तकालय

कांग्रेस मूख्यालय सानेपामा सुरु भयो पुस्तकालय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आजबाट पुस्तकालय औपचारिक रुपमा शुभारम्भ भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले ४२ औं बीपी स्मृति दिवसको अवसरमा आज बिहान पुस्तकालयको उदघाटन गरेका हुन् ।

पुस्तकालयको उद्घाटन गर्दै कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसीहरू पढ्दैनन् भन्ने भाष्य चिर्न आवश्यक रहेको बताए । देउवाले कांग्रेसले पढ्दै पढ्दैनन् भन्ने भनाइ रहेको भन्दै पुस्तकालय शुभारम्भ भएसँगै कांग्रेसीहरुले अध्ययन गर्ने बानी बसाल्नुपर्ने बताए ।

विश्वेश्वरप्रसाद कोइराला राजनीतिदेखि साहित्यलगायतका हरेक कुरामा सक्षम र उनको योगदान अविष्मरणीय रहेको बताउँदै देउवाले कोइराला राजनीतिमा आफ्नो जीवनभर आफ्ना सिद्धान्त स्थापित गर्न र राष्ट्रको लागि जुनसुकै बलिदान गर्न तयार रहेको व्यक्ति भएको बताए।

‘एउटा भन्ने चलन छ, कांग्रेसले पढ्दै पढ्दैन भनेर। अब लाइबेरी भएपछि अवश्य नै पढ्नुहुनेछ भन्ने लाग्छ मलाई। बीपी कोइरालाको सम्बन्धमा मैले भन्ने गरेको छु, धेरै ठूलो व्यक्ति हो। उहाँ हर चिजमा साहित्यकार, साइकोलोजिस्ट सबैकुरामा योग्य हुनुहुन्थ्यो,’ देउवाले भने, ‘राजनीति र साहित्यका साथ साथै धेरै कुरामा उहाँको योगदान छ। राजनीतिमा उहाँ जिन्दगीभर कहिल्यै नथाकेर आफ्नो सिद्धान्त र राष्ट्रको लागि जुनसुकै बलिदान गर्न तयार भएको व्यक्ति हो।’

सभापति देउवाले पुस्तकालयमा सबैले पढ्ने सहज वातावरण बनाउन आग्रह गरे।

पुस्तकालयमा राजनीतिक विषयवस्तुका पुस्तकहरुको संख्या अन्यको तुलनामा बढी छन् । नेपाली कांग्रेसको स्थापनाअघि देखिका विभिन्न कालखण्डका दस्तावेज, संस्थापक नेताहरुको राजनीतिक जीवन, बीपी कोइरालासँग जोडिएका दस्तावेज, कोइरालाले लेखेका साहित्यिक पुस्तक एवम् संविधान, कानुन, राजनीति शास्त्र, दर्शनशास्त्र, अर्थ राजनीति लगायतका पुस्तकहरु पुस्तकालयमा उपलब्ध हुनेछन् ।

पुस्तकालयमा सबैका लागि निःशुल्क प्रवेश गरेर अध्ययन गर्न सक्ने कांग्रेसले जनाएको छ ।

पुस्तकालय र स्रोत केन्द्रले कांग्रेसको मुख्यालयलाई चलायमान गराउने पार्टीले उद्देश्य राखेको छ । पुस्तकालयले खोज अनुसन्धानकर्तालाई समेत मद्दत पुग्ने अपेक्षा कांग्रेसको छ ।