जनस्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

जनस्वास्थ्य संकटकाल घोषणा गर्ने सरकारको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी थालेको छ । कोरोना भाइरस संक्रमितको संख्या २ हजार नाघेसँगै सरकारले जनस्वास्थ्य संकटकाल घोषणा गर्ने रणनीति बनाएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको ‘कोभिड–१९ स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजना’ मा २ हजार सक्रिय केस पुगेपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्न सकिने उल्लेख छ ।

स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणा सम्बन्धमा छलफल गर्दै आएको छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले गत ११ चैतदेखि लकडाउन गर्दै आएको छ ।

बुधबारसम्म संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले स्वास्थ्य संकटकालका विषयमा छलफल भइरहेको भन्दै अझै निर्णय नभएको बताए । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जनस्वास्थ्य संकटकाल घोषणा सम्बन्धमा सरकारलाई सिफारिस नगरिएको बताए ।

उनले भने, ‘औपचारिक-अनौपचारिक रुपमा छलफल भइरहेको छ । अझै निर्णय भएको छैन ।’ जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४८ ले पनि जनस्वास्थ्य संकटकाल घोषणा गर्ने विषयमा उल्लेख गरेको छ । कुनै विपद् एकभन्दा बढी स्थानीय तहमा हुन गएमा, सम्बन्धित प्रदेशले एकभन्दा बढी प्रदेशमा जनस्वास्थ्य विपद् अवस्था सिर्जना हुन गएमा सरकारले तोकिएबमोजिम जनस्वास्थ्य विपद् अवस्था घोषणा गर्न सक्ने जनस्वास्थ्य सेवा ऐनमा उल्लेख छ ।

पहिलो चरणमा संक्रमित २ हजार जनालाई अस्पतालमै राखेर उपचार गर्ने सरकारको योजना थियो । संक्रमितको संख्या २ हजार नाघेपछि थप रणनीति बनाउन सरकार र स्वास्थ्य मन्त्रालय निरन्तर छलफलमा छन् । २ हजारदेखि ५ हजार संक्रमित देखिएमा ४ हजार जनालाई आइसोलेसनको आवश्यकता पर्ने र १ हजार जनालाई आईसीयू र भेन्टिलेटरसहितको स्वास्थ्य सेवा आवश्यक पर्ने योजनामा उल्लेख छ ।

५ हजारदेखि १० हजार संक्रमित देखिएमा आठ हजार जनालाई आइसोलेसनको आवश्यकता पर्ने र २ हजार जनालाई आईसीयू र भेन्टिलेटरसहितको स्वास्थ्य सेवा आवश्यक पर्ने योजनामा उल्लेख छ ।

कोरोना भाइरस पोजेटिभ देखिए पनि कोरोनाबाहेकका कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड–१९ वाट मृत्यु भएको नमानिने भएको छ । यसअघि मृत्यु हुँदाको बखत कोरोना संक्रमण देखिएको व्यक्तिलाई कोभिड–१९ का कारण मृत्यु भएको मानिँदै आएको थियो । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ (पहिलो संशोधन २०७७) बनेसँगै अन्य कारणबाट मृत्यु भएको स्पष्ट भएमा कोभिड–१९ का कारणले मृत्यु भएको नमानिने भएको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।