आरोप प्रत्यारोपमा नउत्रिन भीम रावललाई शंखर पोखरेलको चेतावनी


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य शंकर पोखरेलले नेता भीम रावल राष्ट्रियताको विषयमा आरोप प्रत्यारोपमा उत्रिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहेका पोखरेलले पूर्वगृह, रक्षा र पर्यटन मन्त्री समेत भएको व्यक्तिले सरकारलाई रचनात्मक सहयोग गर्नुपर्ने बताए ।

सुदुरपश्चिम प्रदेशका इन्चार्ज समेत रहेका नेता रावलको आइतबार बसेको राज्य व्यवस्था तथा शुसासन समितिको बैठकमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीसँग चर्काचर्की भएको थियो । नेता पोखरेलले राष्ट्रियताको विषयमा आरोप प्रत्यारोपमा नउत्रिन नेता रावललाई चेतावनी दिएका छन् ।

‘कमरेड भिम रावलजीले कालापानी लगायत नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि विगतका सरकारले गरेका पहल र आफुले हासिल गरेको अनुभव समेतका आधारमा सरकारलाई रचनात्मक सहयोग गर्नुभएको खवर सुन्न पाएको भए खुसीको अनुभूती हुने थियो’, उनले भनेका छन्, ‘राष्ट्रियताको विषयमा आरोप प्रत्यारोप भन्दा वलियो एकता र सार्थक पहलको खाँचो पर्दछ ।’

उनले संसदका समितिहरुको छलफलमा वलियो एकता देखिनुपर्ने आवश्यकता औल्याएका छन् । ‘संसदका समिति र संसद भित्रको छलफलमा पनि त्यो देखिनु आवश्यक छ । आपसी कटाक्ष र विवादले राष्ट्रको पक्षनै कमजोर वन्न पुग्छ । सिमाअतिक्रमण जस्तो संवेदनशील विषयमा राज्यलाई निशर्त सहयोग गर्नु हामी सबैको कर्तव्य हो’, उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement