संसदमा अनिवार्य उपस्थित हुनुपर्ने मन्त्रीहरु गयल, संसद् बङ्क गरेर कहाँ जान्छन् मन्त्री ?

संसदमा अनिवार्य उपस्थित हुनुपर्ने मन्त्रीहरु गयल, संसद् बङ्क गरेर कहाँ जान्छन् मन्त्री ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–बजेटमाथि जारी छलफलमा सम्बन्धित मन्त्री उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।


खचै कटौतीको प्रस्तावमा छलफल सकिएपछि सभामुख डोलप्रसाद अर्यालले मन्त्रालयगत विनियोजनमाथि छलफल अघि बढाउन खोजेका बेला नेकपा सांसद् गोपाल शर्माले सम्बन्धित मन्त्रीको अनुपस्थितिमा छलफल अघि बढ्न नसक्ने भन्दै नियमापत्ति जनाए ।

उनले प्रधानमन्त्री र मन्त्री सदनमा अनुपस्थित हुने प्रवृत्तिबाट सरकारले सदनलाई हेपिरहेको प्रमाणित हुने उल्लेख गरे ।

‘सरकारले सदनलाई टेरिराखेको छैन । नियमावलीको नियम ६ को (५) ले सम्बन्धित विषयमा छलफल हुँदै गर्दा ३ जना मन्त्री मात्रै हुनुहुन्छ । प्रधानमन्त्रीले अर्थमन्त्रीलाई जिम्मेवारी तोकेको भए पनि बाँकी ७ जना मन्त्री हुनुपर्छ । सम्बन्धित मन्त्रीलाई बोलाउ सभामुखको रुलिङको माग गर्छु ।’

शर्माले बोल्ने बित्तिकै सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरे ।

मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका साथै विज्ञान, प्रविधि तथा नवप्रवर्तन , कानुन, न्याय तथा संसदीय मामिला, भौतिक पूर्वाधार तथा यातायात, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र र अर्थ मन्त्रालयअन्तर्गत विनियोजित बजेटमाथि छलफल गर्ने कार्यसूची छ । यसअघि हिजो पनि मन्त्रीहरु अनुपस्थित भएपछि विनियोजन विधेयकमाथिको छलफल चलिरहँदा संसद बैठक स्थगन गरिएको थियो ।