काठमाण्डु – प्रतिनिधि सभा विघटनसँगै विचाराधीन ३९ विधेयक स्वतः निष्क्रिय भएका छन् । संवैधानिक व्यवस्थाअनुसार सभा विघटनसँगै विधेयक स्वतः निष्क्रिय भएका हुन् । प्रतिनिधि सभामा विचाराधीन रहेका र प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेका विधेयक स्वतः निष्क्रिय भएका हुन् ।
राष्ट्रिय सभामा उत्पत्ति भई विचाराधीन रहेका विधेयक भने सोही सभामा मात्र प्रक्रिया अगाडि बढ्नेछन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले विघटनपछि विधेयक स्वतः निष्क्रिय हुने बताए । पाण्डेले भने, ‘‘सभा नभएपछि स्वतः विधेयक निष्क्रिय भएका छन् । प्रतिनिधि सभाको हकमा ३८ विधेयक छन् । प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा विचाराधीन एक विधेयक छ ।’’
संवैधानिक व्यवस्थाअनुसार विधेयक विचाराधीन रहेको अवस्थामा अधिवेशन सकिएमा त्यस्ता विधेयक अर्को अधिवेशनमा कारबाही गर्न मिल्नेछ तर कार्यकाल सकिए वा विघटन भएमा विधेयक निष्क्रिय हुनेछन् । संविधानको धारा १११(१०) को प्रतिबन्धात्मक वाक्यांशमा भनिएको छ, कुनै विधेयक प्रतिनिधि सभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधि सभामा पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ ।
संसद् सचिवालयका अनुसार राष्ट्रिय सभामा विचाराधीन अवस्थामा रहेका विधेयकको कारबाही प्रक्रिया भने अगाडि बढ्नेछ । ती विधेयक सभाबाट पारित भएर बस्नेछन् । हाल १८ वटा विधेयक राष्ट्रिय सभामा विभिन्न चरणमा विचाराधीन छन् ।
अभिलेखअनुसार प्रतिनिधि सभामा दर्ता मात्र भएका शान्ति सुरक्षा विधेयक, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकाससम्बन्धी विधेयक, मानव अधिकार आयोग (पहिलो संशोधन) विधेयक, भन्सार विधेयक, कर्जा सूचना विधेयक, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) विधेयक निष्क्रिय भएका छन् ।
यस्तै प्रतिनिधि सभामा प्रस्तुत भएका निकासी पैठारी नियमन विधेयक, सैनिक (पहिलो संशोधन) विधेयक, सार्वजनिक खरिद (तेस्रो संशोधन) विधेयक, प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण विधेयक पनि निष्क्रिय भएका छन् ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया