सात अर्ब लगानीमा संघीय संसद् भवन बनाइँदै


काठमाडौं – आगामी तीन वर्षभित्र संघीय संसद्को आफ्नै भवन निर्माण हुने भएको छ । सिंहदरबारस्थित पुतली बगैँचाको एक सय ७३ रोपनी आठ आना जग्गामा सात अर्ब रुपैयाँ लगानीमा भवन बनाउन लागिएको हो । चालू आर्थिक वर्षदेखि नै निर्माण सुरु गरी आर्थिक वर्ष ०७८र७९ मा सम्पन्न गरिने भवन निर्माण विकास तथा भवन निर्माण विभागको योजना छ ।

सरकारले चालू आवको नीति तथा कार्यक्रममा संघीय संसद् भवन निर्माण गर्ने व्यवस्था गरेको थियो । जसअनुसार गत कात्तिकदेखि सुरु गरिएको डिजाइनको काम सम्पन्न भएको विभागका महानिर्देशक मणिराम गेलालले बताए । भवनको आर्किटेक्चर डिजाइन इन्गर कन्सल्टेन्सीले र स्ट्रक्चरल डिजाइन डिजिकम इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो । विभागले भवन निर्माणका लागि आइतबार अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । हाल नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडा तिरेर संघीय संसद् सञ्चालन भइरहेको छ ।

यस्तो हुनेछ संसद् भवन
संघीय संसद् भवनमा तीनवटा प्रवेशद्वार हुनेछन् । गुरुयोजनाअनुसार मूलढोका दक्षिणतर्फ रहनेछ भने उत्तरतर्फको ढोकाबाट सांसद आवतजावत गर्नेछन् । दक्षिण–पूर्वको ढोकाबाट कर्मचारी तथा सर्वसाधारण प्रवेश गर्नेछन् । अत्याधुनिक सुरक्षा जाँच पार परेर मात्र प्रवेशको व्यवस्था गरिनेछ । दक्षिणतर्फको मूलढोकाबाट बायाँतर्फ प्रतिनिधिसभा हल हुनेछ भने दायाँतर्फ राष्ट्रिय सभा हल हुनेछ ।

सबै भवनमा काठमाडौंको स्थानीय वास्तुकला झल्कने गरी डिजाइन गरिएको छ । अधिकांश भवन बढीमा तीन तलाको हुनेछ । संसदीय दलको समिति भवन र कार्यालय भवन पाँच तलाको हुनेछ । आवश्यकताअनुसार भवनहरूको प्रयोजनलाई ध्यानमा राखी बेसमेन्ट र सेमिबेसमेन्ट राखिएको छ । परिसरभित्र बन्ने प्रत्येक संरचनालाई भूकम्प, आगलागीजस्ता आपत्कालीन अवस्थालाई ध्यानमा राखी डिजाइन गरिएको छ ।

प्रतिनिधिसभा हल चार सयजना अट्ने बनाइनेछ भने विभिन्न प्राविधिक कक्ष पनि हुनेछन् । सभामुख कार्यकक्ष, पत्रकार भेटघाट कक्ष, विशिष्ट व्यक्तिसँगको भेटघाट कक्ष, शौचालयलगायत हुनेछन् । साथै तीन सयजना अट्ने बाल्कोनी हल हुनेछ भने दुई सयजना अट्ने सुरक्षा कक्ष बन्नेछ । राष्ट्रिय सभा भवनमा करिब सयजना अटाउँछन् । यहाँ यसबाहेक स्टुडियो रुम, कन्ट्रोल रुम, भिडियो रुम, रेकर्ड रुम पनि निर्माण गरिनेछ । सभाध्यक्ष कक्ष, विशिष्ट कक्ष, कमिटी हल पनि बनाइनेछ । दुई सयजना अट्ने बाल्कोनी हल पनि निर्माण गरिनेछ । त्यस्तै, मर्मत कक्ष, मार्सल रुम र शौचालय हुनेछ । यो समाचार नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement