सदनमा उठ्यो भारत-पाकिस्तान युद्धको विषय

सदनमा उठ्यो भारत-पाकिस्तान युद्धको विषय

छिमेकमा आगो सल्कियो, सरकारलाई कूटनीतिक जिम्मेवारी बोध होस् : एनपी साउद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारत र पाकिस्तानबीच बुधबारबाट सुरु भएको सैन्य कारवाहीको विषय संसदमा उठेको छ । सांसदहरूले भारत र पाकिस्तानबीच युद्ध सुरु हुँदा भूराजनीतिक संवेदनशीलता र खुला सीमानाको कारणले नेपाल जोखिममा रहेको बताएका छन्।

नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले भारत र पाकिस्तानबीच सुरु भएको युद्धका कारण नेपाल जोखिममा रहेको बताए ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै गौतमले दुई देशबीचको युद्धले नेपाललाई पार्नसक्ने अल्पकालीन र दीर्घकालीन प्रभावबारे सरकारले बेलैमा सोच्नु आग्रह गरे।

उनले भने, ‘यो विषयमा सरकारले समयमै छलफल अघि बढाओस्। छिमेकी समकक्षीसँग हाम्रा प्रधानमन्त्रीको कुरा भएको भन्ने आएको छ। यस बिषयमा गम्भीर हुन आवश्यक छ।’

यस्तै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भारत र पाकिस्तानबीच युद्ध सुरु भएको बनाउँदै भारतसँग नेपालको खुला सीमा रहेका कारण सरकारले ध्यान त्यता केन्द्रित गर्नुपर्ने बताए । ‘कुनै आतङ्कवादी गतिविधि नहोस्। सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान छैन। किनकि साइकोलोजी पढेको व्यक्ति परराष्ट्र मन्त्री भएको छ। त्यसैले उहाँलाई डिम्लोमेसी र परराष्ट्र नीति भनेको के हो नै थाहा छैन’, सिंहले टिप्पणी गरे ।

उनले पाकिस्तानका तीनवटै आर्मीको ११ जना अहिले नेपालमा रहेको बताए। सरकारले ठूला देशलाई जिस्क्याउने काम गरिरहेको उनले आरोप लगाएका छन्।

यसैगरी, नेपाली कांग्रेसका सांसद एनपी साउदले भारत र पाकिस्तानबिचको पछिल्लो तनावलाई मध्यनजर गरेर सरकारले कूटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने बताए ।

उनले छिमेकमा युद्धको आगो सल्किरहेको बेला सरकारले कूटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्नुपर्ने बताएका हुन् ।

‘आफ्नै नागरिक आस्थाका आधारमा आतङ्कको शिकार भएको र छिमेकमा युद्धको आगो सल्किरहेको बेला नेपाल सरकारले कूटनीतिक जिम्मेवारी बोध गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व निर्वाह गर्न सुझाव दिन चाहन्छु, साउदले भने ।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका साउदले विश्वव्यापी आतंकवादीहरूबाट भइरहेका आक्रमणहरूको सिकार हुनबाट नेपालीहरू पनि अछुतो रहन नसकेको बताए । उनले भने, ‘पहलगाम आतंककारी घटनाले हाम्रो छिमेकी मित्रराष्ट्र भारत र पाकिस्तानबिच गम्भीर तनावको स्थिति उत्पन्न भएको छ ।’

छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेको प्रति पनि असन्तोष व्यक्त गरे ।