काठमाण्डु – बजेटमाथि छलफल सुरु गर्ने प्रमुख एजेन्डासहित बस्ने भनिएको प्रतिनिधिसभा बैठक अनिश्चित बनेको छ ।
मंगलबारदेखि नै आगामी आर्थिक वर्षको राजश्व र व्ययमाथि सामान्य छलफल सुरु गर्ने कार्यतालिका रहेपनि प्रतिपक्षी दलहरुले बैठक सञ्चालन गर्न नदिने अडान लिएपछि बुधबारसम्मका लागि स्थगित गरिएको थियो । बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइए पनि अझै बस्ने/नबस्ने निश्चित छैन ।
प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा नाम जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा विरोध गर्दै आएका छन् । सभामुख देवराज घिमिरेसँगको छलफलमा मंगलबार प्रतिपक्षी दलहरु गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिने र उनको भनाइका आधारमा अर्को बैठक सञ्चालन गर्न दिने वा नदिनेबारे निर्णय गर्न सहमत भएको बताइएको थियो । उनीहरुले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग पनि गर्दै आएका छन् ।
बुधबार पनि सहमतिको पहलमा सभामुख घिमिरेले कानुन मन्त्री अजय चौरसियासहित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् ।
उच्चस्तरीय छानबिन समिति बनाउन सत्तापक्ष तयार नभएको र समिति बनाउनु पर्ने प्रतिपक्षी दलको अडानले प्रतिनिधि सभा भने अनिश्चित बन्न पुगेको हो । दलहरुबीच सहमति हुन नसक्दा मंगलबारको बैठक दुई पटक सूचना टाँसेर स्थगित गरिएको थियो ।
प्रतिक्रिया