काठमाण्डु – प्रतिनिधिसभाको बैठकमा आइतबार पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले विरोध गरेका छन् ।
प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै रास्वपा र राप्रपाका सांसदहरूले बेल घेराउ गर्दै विरोध गरेका हुन्।
सत्ता पक्ष नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रबीच २ बुँदे सहमति पछि सभामुख देवराज घिमिरेले बैठक चलाएका हुन् तर भिजिट भिसा प्रकरणमा आफ्नो अडान कायमै रहेको भन्दै रास्वपाले बैठकमा विरोध गरेको हो ।
नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमाले सचिव योगेश भट्टराई, माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले बैठकमा भनाइ राखेका छन्।
रास्वपा र राप्रपाको चर्को नाराबाजी र अवरोधका बीच सभामुख घिमिरेले प्रतिनिधिसभाको बैठक अघि बढाएका छन्।
विपक्षी दलका सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरिरहँदा पनि सभामुख घिमिरेले त्यसलाई बेवास्ता गर्दै सदनको कारबाहीलाई निरन्तरता दिएका हुन्।
बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। तर, सभामुख घिमिरेले अवरोधलाई पन्छाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई बोल्न समय दिएपछि रास्वपाका सांसदहरू थप आक्रामक बन्दै वेल घेराउ गर्न पुगेका थिए।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि निरन्तर सदन अवरुद्ध गर्दै आएका छन्।
अवरोधकै बीच बोल्न समय पाएका कांग्रेस प्रमुख सचेतक घिमिरेले भने उल्टै रास्वपाको नैतिकतामाथि प्रश्न उठाए।
प्रतिक्रिया