संसद अधिवेशन आजदेखि, धेरै विधेयक समितिमै अल्मलियो


काठमाडौँ – बजेट अधिवेशन भनेर चिनिने संघीय संसदको चौँथो अधिवेशन आजबाट सुरु हुने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका दुबै बैठक आज ४ बजे बस्ने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ८ गते संघीय संसद सचिवालयलाई बैठक आव्हानसम्बन्धी पत्र पठाउनुभएको थियो ।

संसद बैठकको आव्हान र अन्त्य राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त बैठक आव्हानसम्बन्धीको पत्र पढेर सुनाइन्छ । त्यसपछि दलीय प्रतिनिधित्वका आधारमा नेताहरुले शुभकामना मन्तव्य दिने प्रचलन छ ।

आजको बैठकपछि अर्को बैठक शुक्रबारमात्र बोलाउने संसद सचिवालयको तयारी छ । गतवर्षको तुलनामा यो अधिवेशन १ साताअघि नै बोलाइएको छ । गतवर्ष बैशाख २३ गतेबाट मात्र बजेट अधिवेशन सुरु भएको थियो । यो अधिवेशनको सुरुमा प्रि–वजेट छलफल नहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले २० गते ९शुक्रबार० नै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुअघि नै प्रि–वजेट छलफल हुने र त्यसमा आएका सुझावलाई सरकारले समावेश गर्ने गरेको थियो । सरकारको नीति तथा कार्यक्रममा सरकारका योजना र कस्तो वजेट आउँछ भन्ने अनुमान लाउन सजिलो हुनेछ । जेष्ठ १५ गते सरकारले आर्थिक वर्ष २०७६-०७७ को बजेट सार्वजनिक गर्नेछ ।

बजेट प्रस्तुत भइसकेपछि मन्त्रालयगत वजेटका बारेमा बिनियोजन विधेयकमाथि छलफल हुनेछ । २०७४ फागुन २१ गते सुरु पहिलो अधिवेशन चैत्र २० गतेसम्म र २०७५ बैशाख २३ गतेबाट सुरु दोस्रो अधिवेशन असोज ११ गतेसम्म चलेको थियो । पौष ११ गतेबाट सुरु भएको तेस्रो अधिवेशन चैत्र १० गते राती १२ बजेबाट अन्त्य भएको थियो । अहिलेसम्म दुवै सभाको अधिवेशन एकैदिन सुरु भएर एकै दिन अन्त्य हुँदै आएको छ ।

राष्ट्रिय सभाको विधेयक शाखाकी उपसचिव सिर्जना बरालले २ वटा विधेयक दर्ता भएको बताउनुभयो । बरालले प्रमाण ऐन, २०३१ लाई संशोधन गर्न बनेको विधेयक र संघ, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता भएको जानकारी दिनुभयो । प्रतिनिधिसभामा पनि २ वटा विधेयक नै दर्ता भएका छन् । यहाँ दर्ता भएका विधेयकहरुमा राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक र औद्योगिक व्यवसायसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक , २०७५ रहेका छन् । संघीय संसदको बैठक बस्ने तयारी भएपछि विधेयकहरु दर्ता हुन थालेका हुन् । यो खबर आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement