बालेनका सल्लाहकारले नयाँ बहस चलाउँदै, पूर्वप्रन्या कल्याण श्रेष्ठको विशेष सम्बोधन

बालेनका सल्लाहकारले नयाँ बहस चलाउँदै, पूर्वप्रन्या कल्याण श्रेष्ठको विशेष सम्बोधन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जेनजी आन्दोलनपछि विकसित परिस्थितिसँगै काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’का खाद्य सल्लाहकार सन्तोष गिरीको संयोजनमा ‘राष्ट्रहित सर्वोपरि, राष्ट्रिय एकताको लागि नागरिक पहल’ कार्यक्रम हुँदैछ ।

कार्यक्रम बुधबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । उद्घाटन सत्रपछि गिरीले स्वागत मन्तव्य दिनेछन् भने सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।

कार्यक्रममा ‘जेनजी आवाज’ विषयमा मोनिका निरौला बोल्नेछिन् । पहिलो सत्र ‘जेन–जी विद्रोहको जरो ?’ शीर्षकमा सरोज सिंह थापाको सहजीकरणमा डा. बाबुराम भट्टराई, गणेश कार्की, रक्षा बम लगायतका वक्ताहरूले विचार राख्नेछन् ।

त्यसपछि ‘बदलिँदो राजनीति: सच्चिँदै कि सकिँदै दल ?’ विषयमा राजेन्द्र बानियाँको सहजीकरणमा विश्वप्रकाश शर्मा, प्रदीप ज्ञवाली, सन्तोष परियार र कुन्ती कुमारी शाहीले आफ्नो धारणा राख्नेछन् ।

तेस्रो सत्रमा ‘विद्रोहपछिको बाटो: चिन्ता र चुनौती ?’ विषयमा प्रा.डा. विपिन अधिकारी, सबिता भण्डारी, सुधीर शर्मा र प्रा.डा. शम्भुराम सिम्खडाले मन्तव्य दिनेछन् । सत्रमा कर्मा तेन्जिङ गुरुङ र राम चन्द्र शर्माले पनि सम्बोधन गर्नेछन् ।

अन्तिम सत्र ‘विध्वंशपछिको अर्थतन्त्र: कारण र चुनौती ?’मा टीकाराम यात्रीको सहजीकरणमा चन्द्रप्रसाद ढकाल, डा. विमला राई पौडयाल, राजेशकुमार अग्रवाल, रामेश्वरप्रसाद खनाल र प्रा.डा. विश्व पौडेल वक्ता रहनेछन् ।

कार्यक्रमको समापनअघि पूर्वमन्त्री विद्याधर मल्लिकले विशेष सम्बोधन गर्नेछन् । प्रत्येक सत्रपछि प्रश्न–उत्तर र ‘मायाको चिनो’ वितरण हुने कार्यक्रम रहेको छ ।

कार्यक्रम आयोजक संस्थाका संयोजक सन्तोष गिरी रुपन्देही निवासी हुन् । उनी स्वीस चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत र नेकपा एमालेनिकट अनेरास्ववियु रुपन्देहीका सहसचिव रहिसकेका छन् । हाल कुनै राजनीतिक दलमा आबद्ध नरहेका गिरीले कात्तिकमा रुपन्देही–३ मा हुने तय भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा बालेन शाहको समर्थनमा प्रतिस्पर्धा गर्ने तयारी गरेका थिए । तर प्रतिनिधिसभा विघटनपछि उपनिर्वाचन स्थगित भइसकेको छ ।

पछिल्लो समय प्रमुख राजनीतिक दलहरूले संसद् पुन:स्थापना र नयाँ सहमतिको चर्चा गरिरहेका बेला पूर्वप्रन्या कल्याण श्रेष्ठलाई विशेष वक्ताको रूपमा अघि सारिएको छ । श्रेष्ठले सर्वपक्षीय सरकारको नेतृत्व लिएर चुनाव गराउन माहोल बनाउने तयारी थालेका स्रोतको दाबी छ । पूर्वप्रधानन्यायाधीश रहिसकेकी प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले चुनावी वातावरणका लागि दलहरूलाई आश्वस्त पार्न नसकेको आरोप लागिरहेका बेला श्रेष्ठ अगाडि बढेका छन् ।

श्रेष्ठको नेतृत्वमा राजनीतिक दलहरू सहितको सरकार बनाउने, प्रतिनिधिसभा पुन:स्थापना गरेर कानून संशोधन गर्ने र चुनावको वातावरण बनाउनेतिर प्रयास भइरहेको स्रोतको दाबी छ ।