सप्तकोसीकाे २२ वटा ढोका खोलियाे, इटहरी डुबानमा


इटहरी – तीन दिनदेखि लगातार परेकोे वर्षाका कारण सुनसरीका अधिकांश क्षेत्र डुबानमा परेका छन् ।

इटहरीको बुढीखोला र ट्याङ्रा खोला बस्तीमा पसेका कारण सवारी साधन आवागमनमा समेत समस्या भएको छ ।

खोलाले निकास नपाउँदा र खोलाको फोहोर सफाइ नभएका कारण बाढी बस्तीमा पसेको स्थानीयको तर्क छ । बाढी बस्तीमा पसेपछि अहिले डोजरले बस्तीमा पसेको फोहोर सफाइ गर्दै आएको छ ।

इटहरीमा बाढीबाट क्षति हुन नदिन आफूहरु खटिरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलले जानकारी दिए । उनले इटहरी–५ बाट एक जना बेपत्ता भएकाले खोजी कार्य गरिरहेको बताए ।

यता, सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । शुक्रबार बिहान ६ बजेको मापनअनुसार पानीको बहाव १ लाख ७४ हजार ७ सय २० क्युसेक छ । बिहीबार साँझ भने कोसी ब्यारेजमा पानीको मात्रा १ लाख ६४ हजार क्युसेक थियो । अहिले कोसीमा ५६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको छ । योसँगै अहिले ब्यारेजको कन्ट्रोल रुमले रातो बत्ती बालेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement