अमेरिकी उपविदेशमन्त्री रोजर्स आज नेपाल आउँदै

अमेरिकी उपविदेशमन्त्री रोजर्स आज नेपाल आउँदै

आइतबार ‘द एसेन्ट समिट’ कार्यक्रममा सहभागिता जनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि शनिबार नेपाल आउन लागेकी छन् ।

वालेन शाह नेतृत्वमा सरकार गठनपछि नेपाल आउन लागेकी रोजर्स अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन् ।

नेपालमा सरकार गठनयता अमेरिकाबाट लगातार उच्चस्तरीय अधिकारीहरूको भ्रमण भएको छ । यसअघि दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया विशेषदूत सर्जियो गोर नेपालको भ्रमण गरेका थिए ।

उपविदेशमन्त्री रोजर्स नेपालसहित भारत, उज्बेकिस्तान र तुर्कमेनिस्तानको आधिकारिक भ्रमणमा निस्केकी हुन् । रोजर्सले पदभार ग्रहण गरेपछि मध्य एसियाको यो उनको पहिलो प्रमुख भ्रमण हो ।

उनको नेपाल भ्रमणको तालिका सार्वजनिक गरिएको छैन । यद्यपि उनी काठमाण्डुस्थित अमेरिकी दूतावासका जनसम्पर्क प्रमुख माइक हार्करले जेठ ६ गते सगरमाथा आरोहण गरेको उपलक्ष्यमा आयोजना हुने कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।

हार्कर नेपालमा कार्यरत कूटनीतिज्ञहरूमध्ये सगरमाथा आरोहण गरेको पहिलो कीर्तिमान बनाएका हुन् । सोही उपलक्ष्यमा दूतावासले उनको सम्मानमा जेठ १७ गते आइतबार ‘द एसेन्ट समिट’ नामक विशेष समारोह आयोजना गरेको छ । उनी उक्त कार्यक्रममा प्रमुख अतिथि हुनेछन् । कार्यक्रममा सगरमाथा आरोही हार्करलाई सम्मान गरिनेछ ।

‘पर्वतारोहण र कूटनीतिको लागि अमेरिकी दूतावास नेपालका जनसम्पर्क प्रमुख माइक माइक हार्करले मे २० (जेठ ६ गते) मा बिहान ९ : १० बजे सफलतापूर्वक सगरमाथाको आरोहण गर्नुभयो, जसले गर्दा उहाँ विश्वको सर्वोच्च शिखरमा पुग्ने पहिलो सेवारत अमेरिकी विदेश सेवा अधिकारी बन्नुभयो’ अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘यो उपलब्धि अमेरिकी स्वतन्त्रताको आसन्न २५० औं वार्षिकोत्सवको लागि गर्वको क्षण हो, जसले अमेरिकी साहस, दृढता र अन्वेषणको भावनाको सम्झना गराउँछ ।’

रोजर्स सोमबारसम्म काठमाण्डुमा रहनेछिन् । सोहि दिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदैछन् ।

मे २७मा भ्रमणमा निस्केकी उनी जुन १० सम्म यस क्षेत्रमा रहनेछिन् । भ्रमण तालिकाअनुसार रोजर्स शुक्रबार भारतको नयाँ दिल्ली पुगेकी हुन् ।

रोजर्सले नयाँ दिल्लीमा सार्वजनिक कूटनीति, रणनीतिक सञ्चार र जनता–जनताबीचको सम्बन्ध, नवप्रवर्तन, आर्थिक अवसर र क्षेत्रीय सुरक्षामा अमेरिका–भारत साझेदारीलाई कसरी अगाडि बढाउन मद्दत गर्छ भन्ने विषयमा भारतीय अधिकारीहरूसँग छलफल गरेकी छिन् ।

यसअघि बैशाख ७ गते दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपाल आएका थिए । तीनदिने भ्रमणका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए ।

यस्तै कपुरको भ्रमण सकिएको एक सातापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया विशेषदूत गोर पनि नेपाल आएका थिए । उनले परराष्ट्रमन्त्री खनाल र अर्थमन्त्री वाग्लेसँग भेटवार्ता गरेका थिए ।

दुवै अमेरिकी अधिकारीसँग प्रधानमन्त्री शाहले भेट गरेका थिएनन् । प्रधानमन्त्री शाहसँग उपविदेशमन्त्री रोजर्सको भेट हुने वा नहुने निश्चित भइसकेको छैन । तर उनले परराष्ट्रमन्त्री खनाल र सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँग भेट गर्ने परराष्ट्रका प्रवक्ता क्षेत्रीले काठमाण्डुपाटीलाई बताए ।