आज श्रीपञ्चमी, सरस्वतीको पूजा आराधना गरी मनाइँदै


काठमाडौं – आज श्रीपञ्चमी पर्व । सरस्वतीमन्दिर, विद्यालय,शैक्षिक प्रतिष्ठान तथा साधना केन्द्रमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजाआजा आराधना गरिंदैछ । विद्यार्जन,गायन,भाषणकला,कलाकारिता संगीतलगायत क्षेत्रका साधकहरुले भक्तिभावले देवी सरस्वतीको निष्ठापूर्वक पूजा गरिरहेका छन् ।

माघ शुक्लपक्षको पञ्चमी तिथिलाई विद्याकी देवी सरस्वतीको जन्म दिन मानेर पूजाआजा गर्ने चलन छ । देवी सरस्वतीलाई वाणीकी देवी वाग्देवी वा वागीश्वरी,कलाकी देवी भारती,शब्द र संगीतकी देवी शारदा भनेर सम्बोधन गरिन्छ । सरस्वतीको जन्मदिनलाई सरस्वती पूजा,विद्याश्रीले सम्पन्न दिन मानिन्छ । श्रीपञ्चमीदेखि वसन्त ऋतु शुरु हुन्छ । त्यही कारण श्रीपञ्चमी वसन्तपञ्चमी पनि भन्ने गरिन्छ ।

नीरक्षीर छुट्टयाउन सक्ने पक्षी हाँसमा चढेकी सेतो वस्त्र पहिरेकी माता सरस्वती हातमा वीणा, पुस्तक स्फटिकको अक्षमाला र कमल लिएर अभयमुद्रामा स्थित भएको चित्रण गरिएको छ । पुस्तक, कलम, कुची बाजागाजामा पनि सरस्वतीको वास भएको मानेर पूजाआजा गर्ने चलन छ । श्रीपञ्चमीका दिन बिहानै उठेर स्नान गरी फूलप्रसाद लिएर नजिकैको सरस्वतीमन्दिरमा गएर माता शारदाको दर्शन र पूजाआजा गर्ने अनि घरमा आई आफ्ना पुस्तककापी कलमको पनि पूजा गर्ने चलन । स-साना बालबालिकालाई यसै दिन अक्षरआरम्भ गराइन्छ भने ज्ञान र कलाका साधकहरुले पनि यसै दिनदेखि साधनाको थालनी गर्ने चलन छ ।

काठमाडौको स्वयम्भूस्थित सरस्वतीमन्दिर, ललितपुरको लेलेमा रहेको नीलसरस्वतीमन्दिर, भक्तपुरको वागीश्वरीमन्दिर तथा नेपालगञ्जस्थित वागीश्वरीमन्दिर लगायतका देशैभरका सरस्वतीमन्दिरमा भक्तजनको भीड लागेको छ ।

श्रीपञ्चमीको दिनलाई शुभसाइतको दिन मानिने हुँदा यस दिन विवाह व्रतबन्धजस्ता शुभ कार्यका साइत जुराइरहनु नपर्ने विश्वास छ । यसै दिन ससाना शिशुहरुको नाककान पनि छेडिदिने गरिन्छ । श्रीपञ्चमीदेखि लोकमा वसन्तऋतु लाग्ने भएकाले यस दिन कामदेव र रतिको पनि पूजा गरिन्छ । लोकमा वसन्तपञ्चमीदेखि श्रृंगार रसको धून बजाउन थालिन्छ ।

श्रीपञ्चमीका दिन काठमाडौको हनुमानढोका गई राष्ट्रप्रमुखबाट वसन्तश्रवण गर्ने राष्ट्रिय परम्परा छ । वसन्तपञ्चमीलाई रंगको पर्व फागू प्रारम्भ भएको पनि मान्ने गरिन्छ । यसै दिनदेखि वर्षायाम लाग्ने र खेतीपातीका लागि हलोकोदाली तयारपारी पूजा गरेर हलसारो गर्ने पनि चलन छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement