काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ ।सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बैठक जारी रहेको छ ।
बैठकमा भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको छ ।
भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङसहित नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।
बाढीपछि भदौ ११ गते बसेको सर्वदलीय बैठकले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार, राहत वितरण र व्यवस्थापनलगायत विषयमा १० बुँदे सङ्कल्प गरेको थियो । त्यसपछि भदौ १५ गते दोस्रो तहका नेताहरूको सर्वदलीय बैठकले उक्त सङ्कल्प कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
आजको बैठकमा रास्वपा सभापति रवि लामिछाने, महामन्त्री विपिन आचार्य र सहमहामन्त्री पुरुषोत्तम यादव सहभागी छन् । त्यस्तै नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेकी सचिव पद्मा अर्याल, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेता वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाही तथा जनमत पार्टीका अध्यक्ष डा। सीके राउतलगायत नेताहरूको सहभागिता रहेको छ ।




प्रतिक्रिया