नियतलाई ठिक राख्नुस, पिडितले चाँडै न्याय पाउछन्ः सर्वेन्द्र खनाल


जनकपुरधाम – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी र सरकारी वकिलको देश र जनताप्रतिको ठूलो जिम्मेवारी भएकाले आफ्नो जिम्मेवारीलाई इमान्दारीपूर्वक बहन गर्नुपर्ने बताएका छन् ।

प्रदेश १ र २ का अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्दै प्रहरी प्रमुख खनालले इमान्दारीबाट कुनै एक पक्ष चुकेमा न्यायप्रणाली कमजोर हुन सक्ने भएकाले नियतलाई ठीक राख्नुपर्ने बताए ।

‘नियत ठीक राखेर अघि बढौं र अनुसन्धानकर्ताले त्रुटि नगरौं तथा वकिलहरुले म्याद गुजार्ने काम नगरौं,’ उनले भने, ‘यति गरिसकेपछि फौजदारी न्यायप्रणाली धेरै राम्रो हुन्छ । र, पीडितले चाँडै न्याय तथा पीडकले चाँडै कारबाही पाउँछन् ।’

सरकारी वकिलहरुको कानुनी विज्ञता र मेडिको लिगल अफिसर (चिकित्सक) हरुको विषयगत दक्षता सफल अनुसन्धानको महत्वपुर्ण पक्ष भएकोले अनुसन्धानकर्ता प्रहरीहरुले सोको उचित प्रयोग गर्नुपर्नेमा जोडदिए । साथै लामो समयदेखि पेण्डिङ्ग रहेको मुद्दाहरुको अनुसन्धानलाई तिव्रता दिनुपर्ने समेत उनले बताए ।

निष्पक्ष, बैज्ञानिक, तथ्यपरक एवं प्रमाणमुखी अनुसन्धानका माध्यमबाट आम नागरिकहरुलाई कानुनी शासनको प्रत्याभूति दिलाउनु पर्ने बताउँदै प्रहरी महानिरीक्षक खनालले सबै खाले अपराध र भ्रष्टाचार विरुद्ध शुन्य सहनशिल नीतिलाई अख्तियार गर्दै उच्च मनोवलका साथ कार्य गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिए ।

अपराध नियन्त्रण तथा अभियोजमा कानुनी कठोरता र विवेकपूर्ण निर्ममता अपनाउनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भने, ‘अपराध अनुसन्धान तथा अभियोजनमा नियत सफा राखेर कुनै सहुलियत नलिई काम गर्नुस् ।’

अपराध नियन्त्रण तथा अनुसन्धानको लागि नेपाल प्रहरीले टोल फ्रि नम्बर ११७७ प्रयोगमा ल्याएको बताउँदै धेरै वर्षको प्रयासपछि नेपाल प्रहरीले साइबर ब्यूरो तथा मानव बेचबिखन अनुसन्धान ब्यूरो स्थापना गर्न सफल भएको समेत उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस
Advertisement