प्रहरी महानिरीक्षक खनालले भने ‘जवान र हवलदारलाई मुटुमा राखेर काम गर्छु’


काठमाडाैँ– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललले इमान्दारीतापूर्वक काम नगर्ने प्रहरीलाई कार्वाही गर्ने चेतावनी दिएका छन् । उपत्याकाका तीन जिल्लाका प्रहरी अधिकारीलाई खनालले निष्पक्ष र व्यावसायीक रुपमा सेवा प्रदान गर्न निर्देशन दिएका हुन् ।

खनालले राज्यले दिएको जिम्मेवारी निर्वाह नगर्ने जोकोहीलाई पनि सेवामा बस्ने अधिकार नभएको भन्दै शान्तिसुरक्षाको जिम्मेवारी नै संगठनको पहिलो दायित्व भएको बताए । देशभरको प्रहरीको छाया नै काठमाण्डु र उपत्यका प्रहरी भएको बताउँदै प्रहरीको इमान र शाख गिर्ने कुनै पनि काम नगर्न उनले निर्देशन दिए । पछिल्लो समयमा समाजमा विविध खालका अपराध बढीरहेकोतर्फ सचेत गराउँदै हरेक काममा शून्य सहनशीलता अपाउनुपर्ने उनको भनाई थियो ।

प्रहरीकै मिलोमतोमा विभिन्न अपराध, तस्करी र गुण्डागर्दीलाई प्रश्रय दिने काम भइरहेको सञ्चारमाध्यमका समाचारलाई संकेत गर्दै खनालले भने, ‘घुस खाने, गुण्डासँग मिल्ने र दायाँबाँया गर्ने प्रहरीलाई छाडिन्न, त्यसैले आफ्ना गलत प्रवृती त्यागौं ।’ मुलुकको शान्तिसुरक्षा र राज्यको प्रभावकारी उपस्थितीका लागि नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए । राम्रो गर्नेलाई सम्मान र नराम्रो गर्नेलाई दण्ड गरिने खनालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement