दुर्गा प्रसाईंको रिटमा सर्वोच्चकाे ‘कारण देखाऊ’ आदेश, खानतलासीमा बरामद भएका सामान झिकाइयो

दुर्गा प्रसाईंको रिटमा सर्वोच्चकाे ‘कारण देखाऊ’ आदेश, खानतलासीमा बरामद भएका सामान झिकाइयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ ।

न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले प्रसाईंको बन्दीप्रत्यीकरण रिटमा कारण माग गर्दै जिल्ला प्रहरी परिसर भक्तपुरका नाममा आदेश दिएको हो ।

प्रसाईंकी श्रीमती उमा प्रसाईंले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले आधार र कारण खुलाएर २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।

यसका साथै, अदालतले गत भदौ ४ गते प्रसाईंको घर खानतलासी गर्दा बरामद गरिएका भनिएका सामानहरू समेत आगामी पेसीका दिन अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी परिसर भक्तपुरलाई निर्देशन दिएको छ ।

आदेशमा भनिएको छ ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए सोको आधार र कारण खुलाई यो आदेश प्राप्त भएका मितिले बाटाका म्याद बाहेक २४ (चौबिस) घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जबाफ पेस गर्नू भनी यो आदेश र रिट निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरुका नाउँमा म्याद पठाई म्यादभित्र लिखित जबाफ परे वा अवधि नाघेपछि नियमानुसार पेस गर्नुहोला । साथै, निवेदनसाथ संलग्न मिति २०८३/ ०५/०४ को खानतलासी पूर्जीबमोजिम निवेदक दुर्गा प्रसाईको घर खानतलासी हुँदा बरामद भएका भनिएका सामानसमेत पेसीको दिन लिई आउनु भनी विपक्षी जिल्ला प्रहरी परिसर भक्तपुरलाई लेखी पठाउनू ।’