नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयनमा लैजान सबै मन्त्रीले सात दिनभित्र कार्ययोजना पेश गर्नुपर्ने


काठमाण्डु- सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबै मन्त्रीहरूले सात दिनभित्र आ-आफ्नो क्षेत्रको कार्ययोजना पेश गर्नुपर्ने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारका नीतिगत प्राथमिकता प्रभावकारी कार्यान्वयन गर्न मन्त्रिपरिषद् बैठकले नै निर्णय गर्नुपरेको सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

‘सरकारको नीतिगत प्राथमिकता सरकारको न्यूनतम साझा कार्यक्रम हो । ती कार्यक्रम कार्यान्वयनमा लैजाने भनेर यसअघिकै मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेको छ’, मन्त्री पौडेलले भने, ‘उक्त नीतिगत प्राथमिकता र कार्यक्रम कार्यान्वयनका लागि हरेक मन्त्रालयसँग सम्बन्धित आवश्यक कार्ययोजना निर्माण गर्न सात दिनको समय प्रदान गरिएको छ ।’

उनले सबै सम्बन्धित मन्त्रालयहरुले कार्ययोजना बनाएर मन्त्रिपरिरषद्मा प्रस्तुत गर्ने र निर्णय गरेर अघि बढ्ने बताए । यसैगरी सरकारले उखु किसानलाई मध्यनजर गर्दै उखुको समर्थन मूल्य प्रतिक्विन्टल २० रुपैयाँले बढाएको छ । यस वर्षका लागि उखुको विक्री मूल्य निर्धारण गर्दै प्रतिक्विन्टल ५४० रुपैयाँ तोकेको हो । त्यस्तै सरकारले उखुको ढुवानी भाडा प्रतिक्विन्टल ७० रुपैयाँ बेहोर्ने निर्णय भएको उपप्रधानमन्त्री पौडेलले जानकारी दिए । यो निर्णयपछि अव किसानले प्रतिक्विन्टल ६१० रुपैयाँ पाउने भएका छन् ।

‘अव किसानले उखुको प्रतिक्विन्टल मूल्य ५ सय ४० रुपैयाँ र सरकारी अनुदान ७० रुपैयाँसहित ६ सय १० रुपैयाँ पाउने छन् । यो निर्णय सरकाले गरेको छ,’ उपप्रधान तथा अर्थमन्त्री पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement