सरकारको आलोचना गर्दै पूर्वप्रधानसेनापति क्षत्रीले भने- विप्लवमाथि बल प्रयोग गरे द्वन्द्वको खतरा

सरकारको आलोचना गर्दै पूर्वप्रधानसेनापति क्षत्रीले भने- विप्लवमाथि बल प्रयोग गरे द्वन्द्वको खतरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग औपचारिक वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्नु मुलुकका लागि घातक हुनसक्ने चेतावनी दिएका छन्।

नेकपामाथि प्रतिबन्ध लागेपछि पक्ष र विपक्षमा अभिव्यक्ति आइरहेका बेला केही महिनाअघि मात्रै अवकाश पाएका क्षत्रीले सरकारले चालेको कदमको आलोचना गरे। गत भदौ २४ गते अवकाश पाएका पूर्वप्रधानसेनापति क्षत्रीले प्रतिबन्धित नेकपाका नेता-कार्यकर्ता नियन्त्रणमा सेनालाई अघि नसार्नसमेत सुझाव दिए।

आफू अवकाश हुनुअघिसम्म सरकारलाई राजनीतिक समस्या वार्ताबाटै हल गर्न सुझाव दिएको र पहिलेको धारणा र सुझावमा त्यति तात्विक फरक नभएको उनले स्पष्ट पारे। ‘विप्लव र उनी संलग्न नेकपा राष्ट्रघाती र देशविरोधी होइनन्, उनीहरूमाथि राजनीतिक शक्तिकै व्यवहार गरिनुपर्छ,’ नागरिकसँगको विशेष कुराकानीमा पूर्वप्रधानसेनापति क्षत्रीले भने, ‘समस्या सुल्झाउन राजनीतिक वार्ता र सहमति सबैभन्दा उपयुक्त विकल्प हो, वार्ताबिनै बल प्रयोग गर्दा देश पुनः द्वन्द्वमा फस्ने जोखिम रहन्छ।’

राजनीतिक कदमबाट सम्भव नभए सेना स्वभाविकरूपमा अघि आउने उनले बताए। फागुन २७ गते विप्लव नेतृत्वको नेकपामाथी सरकारले प्रतिवन्ध लगाएसँगै वरिष्ठ नेता हेमन्तप्रकाश वली (सुदर्शन) सहित ३ दर्जन नेता-कार्यकर्ता पक्राउ परिसकेका छन्। संविधान र कानुन विरोधी गतिविधिमा संलग्न जोसुकैलाई कारबाही गर्न सधै सरकारलाई अधिकार भएको तर दलमाथि नै प्रतिबन्ध लगाएर निषेध गर्न खोज्दा असन्तुष्ट पक्ष झन् बलियो हुने उनको तर्क छ। विप्लवले सोमबार मात्रै विज्ञप्ति जारी गर्दै आफूहरूमाथि लगाइएको प्रतिबन्ध फुकुवा नगरे सरकारमाथि प्रतिबन्ध लगाउने चेतावनी दिइसकेका छन्। यसलाई पूर्वप्रधानसेनापति क्षत्रीले मुठभेडको जोखिम रहेको औंल्याए।

माओवादी द्वन्द्वले उग्ररूप लिएका बखत २०५८ देखि २०६२-०६३ ताका हिंसा नियन्त्रणमा क्षत्री सेनाको रणनीतिक योजना तर्जुमामा समेत खटिएका थिए। तत्कालिन विद्रोही नेकपा माओवादीले आफू समाप्त हुने खतरापछि आत्मसमर्पण गरेर नै मूलधारको राजनीतिमा आएको क्षत्रीले टिप्पणी गरे। फौजी कारबाहीबाट माओवादी समाप्त हुने देखेपछि अध्यक्ष पुष्पकमल दाहाल आफ्ना सबै लक्ष्य, उद्देश्य र गन्तव्य थाती राखेर मूलधारका राजनीतिक दलसँग मिलेको पूर्वप्रधानसेनापति क्षत्रीको टिप्पणी छ। याे समाचार अाजकाे नागरिक दैनिकमा छ ।