सरकारको कोरोनामुक्त नीति आठौं आश्चर्यसरह साबित भयो :अध्यक्ष राणा


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले आफ्नो कमजोरी र असफलता, नीति कार्यक्रममार्फत आफैंले प्रष्ट स्वीकार गरेको बताएका छन् ।

‘सरकार कमजोर छ, असफल छ भन्ने लगुताभाष नीति कार्यक्रममा प्रष्ट झल्कियो । लामो कार्यक्रमको भद्दा संगालो त्यसको प्रमाण बन्यो,’ राणाले भने । महामारीका बाबजुद नीति तथा कार्यक्रमले कोरोनालाई अन्देखा गरेकोमा उनले आश्चर्य व्यक्त गरे । सरकारको कोरोनामुक्त नीति आठौं आश्चर्यसरह साबित भएको राणाले बताए ।

‘कोरोनाले आक्रान्त भएको बेला स्वास्थ्य, आर्थिक संकट र वेरोजगारी सम्बोधन हुने विशेष जोडको अपेक्षा थियो । सतही विवरणबाहेक सरकार करिवन् मौन रह्यो,’ अध्यक्ष राणाले ट्वीट गदै भने । ‘महामारीबीच कोरोनामुक्त नीति कार्यक्रम आठौं आश्चर्यसरह नै हो । सरकार कहाँ छ, ध्यान कता छ, जगजाहेर भयो ।’

लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नक्सा प्रकाशन गर्ने सरकारको प्रतिवद्धता व्यवहारमा लागू हुनु पर्ने उनको भनाइ छ । ‘हाम्रो भूमि मिचेर भारतले सडक बनाएको प्रधानमन्त्रीलाई अस्तिसम्म जानकारी थिएन । लिम्पियाधुरा, कालापानी, लिपुलेक राष्ट्रपतिले फिर्ता लिन्छौं भन्नु त्यसर्थ सुधार मानौं,’ उनले भने । ‘छुटेको भूमिसहित नयाँ नक्सा प्रकाशित गर्ने घोषणा भएको छ । सरकारको प्रतिवद्धता व्यवहारमा लागू हुन्छ भन्ने कामना गरौं ।’

सरकारको नीति तथा कार्यक्रम अव्यवहारिक रहेको राणाको टीप्पणी छ, जो प्रस्तुत गर्न राष्ट्रपतिलाई साढे दुई घण्टाभन्दा बढी समय लागेको थियो । अध्यक्ष राणले भने, ‘फेहरिस्त वाचन गर्दागर्दै राष्ट्रपति थाके भने, यसै थाकेको सरकार यत्रो कार्यक्रम साँच्चै कार्यान्वयन गर्दा अझै कति थाक्ने हो । नीति कार्यक्रम अव्यवहारिक देखियो ।’

उनले भने, ‘कोरानाको लहरबाट मृतप्राय भएको नेपाली अर्थतन्त्र उकास्ने भन्ने तर ठोस योजना प्रस्तुत नगर्ने, स्रोत साधन पहिचान र प्रस्तुत नगरी विकास गर्छु भन्ने जस्ता खोक्रो आश्वासनले भरीभराउ नीति तथा कार्यक्रम पढेर नेपाली जनता सरकारसँग निराश र वाक्क दिक्क भएका छन् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement