सरकारले जनताको जीवनमाथि खेलबाड गरेको छ : अध्यक्ष राणा


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले जीवन रक्षाको मन्त्रणा गरेर नथाक्ने सरकारले जनताको जीवनमाथि खेलबाड गरेको आरोप लगाएका छन् ।

परीक्षण सामाग्री र उपकरणको चरम अभावबाट महामारी सरकारको प्राथमिकता नरहेको प्रष्ट भएको उनको भनाइ छ । राप्रपा अध्यक्ष राणाले सत्ता होइन, जनता जोगाउन सरकारलाई आह्वान गरेका छन् ।

‘स्वाब नमूना सुरक्षित राख्ने भीटिएमसहित पीसीआर किटको चरम अभाव छ । परीक्षण सामाग्री उपलब्ध छ भन्ने सरकारको दाबीमाथि संचारजगतको ठूलो चुनौती छ,’ बिहीबार ट्वीट गर्दै राणाले भने । ‘जीवन रक्षाको मन्त्र जप्ने सरकारले यस्तो खेलबाड गर्न सुहाएन । सत्ता होइन जनता जोगाउनु पर्यो । सरकार आफैंले खतरामाथि खतरा थोपर्न भएन ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीको ३१ औं स्थापना दिवसको छुट्टै प्रसंगमा राणाले प्रजातन्त्रमाथि ठूलो चुनौती रहेको बताए् । राप्रपाको सान्दर्भिकता र विकल्प झन् प्रष्ट भएको उनले दाबी गरे ।

शुभकामना सन्देश जारी गर्दै उनले भने, ‘थाम्नै नसकिने कर र ऋणको भार छ । साँघुरो राजनीति, संस्थागत भ्रष्टाचार, विभेद, हत्या, बलात्कार, दण्डहीनता नियमित बनेको छ । प्रजातन्त्र ठूलो चुनौतीमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको सान्दर्भिकता र विकल्प झन् उजागर छ ।’

राप्रपा स्थापना दिवसको अवसरमा पार्टीका सम्पूर्ण सदस्य, शुभेच्छुकहरूमा राणाले शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement