सरकारले लामो बन्दाबन्दीको सदुपयोग गरेन :अध्यक्ष राणा


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले कोभिड–१९ विरुद्धको संघर्षमा सरकारको रणनीतिक सुझबुझ कमी रहेको बताएका छन् ।

संक्रमणको क्रमभन्दा दुई कदम अघि रहेर तयारी गर्नु पर्नेमा सरकार कोरोनाको पछिपछि लागेको छ । अन्य देशको नक्कल गरेर मात्र रणनीतिक सफलता प्राप्त नहुने, उनले बताए । बन्दाबन्दीको लामो समयमा सरकारले सुविधाका बाबजुद सहरी क्षेत्र र राजधानीमा समेत परीक्षणको दायरा नढाएकोमा आपत्ति जनाए । स्वास्थ्य उपकरण खरीदमा भ्रष्टाचार र आपूर्तिमा ढिलासुस्तीले सरकारको लापरवाही पुष्टी गर्ने उनले बताए ।

‘सरकारले लामो बन्दाबन्दीको सदुपयोग गरेन । सुविधासम्पन्न राजधानीमा समेत परीक्षणको दायरा बढाएन,’ राणाले भने । ‘स्वास्थ्य सामाग्री खरीदमा भ्रष्टाचार, आपूर्तिमा ढिलासुस्ती, सुझबुझमा कमी भयो । तयारी दुई कदम अघि हुनु पर्नेमा सरकार कोरोनाको पछिपछि देखियो । विदेशको नक्कलले मात्र रणनीतिक सफलता हात लाग्दैन ।’

राप्रपा अध्यक्ष राणाले स्वास्थ्य उपकरण अभाव पूर्ति गर्न स्थानीय उद्यमीहरूलाई प्रोत्साहन गर्नु पर्ने बताए । ‘पाइला टेक्नोलजिले प्रारम्भिक चरणमा भेन्टीलेटर निर्माण गरेको छ । यसमा सुधार गरी आवश्यक परीमाण उत्पादन गर्न सके आन्तरिक रूपमै उपकरण अभाव पूर्ति हुने थियो,’ उनले ट्वीट गर्दै भने । ‘कोरोनाको खतरा बढ्दो दरमा छ । यसै पनि महामारी चाँडै अन्त्य हुने होइन । युवा उद्यमीलाई प्रोत्साहन गरौं, मेरो मूरीमूरी शुभेच्छा छ,’ राणाले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement