सरकारी जग्गामा भूमाफियाको रजाइँ, पुर्पक्षका लागि १८ जना थुनामा


नेपालगन्ज – राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासहित बाँके र बर्दियाका करोडौं मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी गर्न संलग्न भएको अभियोगमा भूमाफिया, मालपोत कर्मचारी, लेखनदासलगायत १८ जना पुर्पक्षका लागि थुनामा गएका छन्। बाँके जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले उक्त प्रकरणसँग जोडिएका उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

प्रहरीका अनुसार नौ महिनाअघि नेपालगन्ज कारकाँदोस्थित सिक्टा सिँचाइ आयोजना परिसरभित्रको कित्ता नम्बर २१० को ५ कट्ठा १३ धुर जग्गा भूमाफिया खैरुल हसन अन्सारीले सरकारी कागज किर्ते गरी आमा हसरतुन निसा अन्सारीको नाममा जग्गाधनी स्रेस्ता कायम गराएका थिए। यस्तै नेपालगन्ज–३ स्थित वागेश्वरी मन्दिरनजिकको कित्ता नम्बर १४ को ५ कट्ठा १३ धुर सरकारी जग्गा सरकारी कागज किर्ते गरी अर्का भूमाफिया जुनेद अन्सारीकी सासू लाली मल्लको नाममा ८ महिनाअघि जग्गाधनी स्रेस्ता कायम गराइएको थियो। जुनेदको जग्गासम्बन्धी विवादमै यसअघि हत्या भइसकेको छ।

यसैगरी बर्दियाको साविक नेउलापुर गाविस ७ को ६ बिघा ३ कट्ठा १४ धुर सरकारी जग्गा पनि खैरुलले आफ्ना बाबुको नाममा दर्ता स्रेस्ता कायम गराई गत पुस १२ गते आमा हसरतुनको नाममा नामसारी गराए। स्थानीयका अनुसार चार लेन सडकले छोएको सिक्टा सिँचाइ आयोजनाको उक्त जग्गाको चलनचल्तीको मूल्य प्रतिकट्ठा करिब डेढ करोड रहेको छ। यस्तै नेपालगन्ज–३ मा रहेको सरकारी जग्गाको मूल्य प्रतिकट्ठा ५० लाखभन्दा माथि छ। नेउलापुरको जग्गाको चलनचल्तीको मूल्य प्रतिकट्ठा करिब १० लाख छ।

बाँके र बर्दियाका विभिन्न ठाउँका सरकारी जग्गा किर्ते कागजात तयार पारी व्यक्तिका नाममा नामसारी गराउन संलग्न भएको अभियोगमा भूमाफिया, सरकारी कर्मचारी, लेखनदास गरी १८ जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ।

यस प्रकरणमा करिब एक महिनाजति अनुसन्धान गरेपछि बाँके प्रहरीले अदालतमा मुद्दा दर्ता गराएपछि हालै थुनछेक आदेश भएको हो। अदालतको आदेशबाट मालपोत कार्यालय बाँकेका तत्कालीन अधिकृत पुष्पा श्रेष्ठ, नायब सुब्बाहरु टंकप्रसाद शर्मा, रामबहादुर खड्का, मानबहादुर केसी र रुद्रबहादुर देवकोटा, कम्प्युटर अपरेटर (खरिदार) यज्ञश्वर वली, खरिदार सुशील रिजाल, सञ्जय ठाकुर, सहायक कम्प्युटर अपरेटर प्रेमबहादुर चन्द र कार्यालय सहायक अन्तराम चौधरी पुर्पक्षका लागि थुनामा गएका छन्।

यस्तै मालपोत कार्यालय बर्दियाका मालपोत अधिकृत रामकुमार रोका, नासु कृष्णलाल शर्मा, खरिदार भुमिराज पोख्रेल, कम्प्युटर अपरेटर लक्ष्मी मल्ल, नेपालगन्ज–३ निवासी भूमाफिया खैरुल हसन अन्सारी, नेपालगन्ज १७ का सज्जन सैयाद, लेखनदासद्वय नेपालगन्ज–९ का बृहस्पति खड्का र गुलरिया–७ बर्दिया निवासी पप्पु धोबी पनि पुर्पक्षका लागि थुनामा गएका छन्।

मालपोत कर्मचारी र लेखनदासविरुद्ध सरकारी कागजात किर्तेसम्बन्धी मुद्दा चलेको छ भने भूमाफिया खैरुलविरुद्ध सरकारी कागजात किर्ते तथा कर्तव्य ज्यान र अपहरण मुद्दा लगाइएको बाँकेका प्रहरी प्रमुख अरुण पौडेलले जानकारी दिए। अदालत स्रोतका अनुसार मालपोत कार्यालय बर्दियाकी खरिदार तुल्सारानी थारु भने एक लाख धरौटी बुझाएर छुटिसकेको उनले बताए। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement