राज्यको ढुकुटीमाथी लुटः तीन महिनामा १ हजार कर्मचारी विदेश भ्रमणमा


काठमाडौं – पछिल्ला तीन महिनामा अध्ययन, अवलोकन, अनुभव साटासाट, सिकाइ, सांस्कृतिक अवलोकन, पर्यटन प्रवद्र्धनलगायतका शीर्षकमा १ हजार १ सय २० जना सरकारी कर्मचारीले विदेश भ्रमण गरेका छन् । खासगरी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आचारसंहिता लागू भएको अवधिमा यी भ्रमण भएका छन् ।

आन्तरिक स्रोतले नियमित खर्च पनि धान्न नसकी सरकार ऋणमा चलिरहेको अवस्थामा सरकारी कर्मचारी करोडौं रुपैयाँ खर्चेर विदेश सयरमा निस्केका हुन् ।‘कात्तिक १५ गतेदेखि माघ १५ गतेसम्म तीन महिनाको अवधिमा कुल १ हजार १ सय २० कर्मचारीले विदेश भ्रमण गरेको विवरण प्राप्त भएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्च स्रोतले नागरिकसँग भन्यो, ‘यो भ्रमणका लागि ७८ करोडभन्दा बढी रुपैयाँ खर्च भएको छ ।’

निर्वाचन आयोगले गत भदौ १४ गतेदेखि मंसिर २१ गतेसम्म प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको आचारसंहिता लागू गरेको थियो । यस अवधिमा नेपालले सहभागिता जनाउनैपर्ने बाहेक अन्य कार्यक्रमको बहानामा कर्मचारीलाई विदेश भ्रमण नगर्न आयोगले भनेको थियो तर यही अवधिमा सबैभन्दा बढी सरकारी कर्मचारी विदेश भ्रमणमा गएका छन् । ‘निर्वाचन आयोगको आचारसंहिताले पनि काम गरेको देखिएन । कर्मचारी अनावश्यक कार्यक्रममा सहभागी हुन सबैभन्दा बढी यही अवधिमा गएका छन्,’ स्रोतले भन्यो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कागजातअनुसार कात्तिक १५ देखि माघ १५ गतेसम्मको अवधिमा सबैभन्दा बढी नेपाली सेनाका १ सय ६४ जना अधिकृत तथा सोभन्दा माथिल्लो तहका सेनाले विदेश भ्रमण गरेका छन् । अध्ययन, तालिम, अवलोकनलगायतका कार्यक्रममा सैनिक अधिकृतले विदेश भ्रमण गरेका छन् । सैनिक अधिकृतको यो संख्या संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा गएबाहेकको हो ।आजको नागरीक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement